‘जेन जी’ को आन्दोलनमा प्रहरीको गोलीबाट १ को मृत्यु, ८० जना घाईने


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ

सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेको बिरुद्ध काठमाडौँको नयाँ बानेश्वरमा जारी रहेको ‘जेन जी’ पुस्ताको आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । उपचारको क्रममा एक व्यक्तिको सिभिल अस्पतालमा मृत्यु भएको र मृतकको अझै पहिचान नखुलेको अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा घाईतको संख्या ८० जना भन्दा बढी पुगेको छ । त्यहाँ घाईते भएका मध्य २० जनालाई उपचारको लागि ट्रमा सेन्टर पठाईएको छ ।

सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यू लगाएको छ । तथापि प्रहरीको दमनका कारण आन्दोलनले झन उग्र रुप लिएको छ । सरकारले कफ्र्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ ।

अहिले नयाँ बानेश्वर क्षेत्रमा संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रहरीबाटै अश्रुग्यास, रबरको गोली निरन्तर चलेपछि जेएनजी युवाहरु पनि प्रतिकारमा उत्रिएका छन् । जेन जी समुह अन्तर संसद भवन भित्र समेत छिरेर ओली सरकारलाई थप चुनौती दिएका छन् ।

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेपछि जाईलगेको केहीले बताएका छन् । जेएन जी पुस्ताहरुले भने आन्दोलनमा घुसपेठ भएको बताएका छन् ।

प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । अहिले पुरानो ट्रलीबसको कार्यालय नजिक आगजनी गरिएको छ ।