ब्युटी न्युज नेपाल
काठमाडौँ, २० भदौ
गत सातामात्र छायांकन सम्पन्न भएको विल्सन बिक्रम राई निर्देशित नेपाली चलचित्र ‘मैझारो’ को रिलिज मिति समेत घोषणा गरिएको छ । हिजो यसको दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकिएको हो । यो चलचित्र अब ७ कात्तिकबाट दशभरका चलचित्र घरमा रिलिज हुने भएको छ ।
पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्। पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।
दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन्। धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ ।
विल्सन विक्रम राईको निर्देशनसँगै उनकै कथामा बनेको फिल्ममा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ । फिल्ममा धिरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। मित्र डी गुरुङको सम्पादन राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा गीत समावेश छन्।
फिल्मको छायांकन सौरभ लामाले गरेका छन्। वितरण अधिकार आरआर फिल्मले लिएको छ भने डिजिटल स्ट्रिमिङ अधिकार ओएसआरले खरिद गरेको छ। यस फिल्ममार्फत कलाकार विल्सन विक्रम राई पहिलो पटक लेखन तथा निर्देशनमा उत्रिदैछन्। उनले यसअघि पनि ‘तक्मे प्रोडक्सन’ बाट फिल्म निर्माण गरेका थिए।