दर्शकले खुलेर आफ्नो चलचित्रको प्रसँसा गर्दा केदार हर्षित देखिए । कतै उनले हर्षका कारण आँसु थाम्न सकेनन् । कतै केदारलाई दर्शकले बोक्दै उनको प्रशंसामा नाराबाजी समेत लगाए ।
………………………………………………………
ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ
शुक्रबार दिउँसोबाट अक्युपेन्सी बढेर हाउसफूल हुँदै गएको हास्य प्रधान चलचित्र ‘माग्ने राजा’को शनिबार मुलुकका आधा भन्दा चलचित्र सो हरु हाउसफूल भएको देखियो । बाँकी आधा सोमा पनि ८० प्रतिसतको हाराहारीमा दर्शक रहेको यसको मिडियो सल्लाहकार श्रीधर पौडेलले ब्युटी न्युज नेपाललाई जानकारी गराए ।
शनिबार दिनभर माग्ने राजाको व्यापार आक्रामक भएपछि यसका निर्देशक ऋषि लामिछाने ’माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीले काठमाडौँका विभिन्न चलचित्र घरमा पुगेर दर्शकसँग साक्षात्कार गरे । दर्शकले खुलेर आफ्नो चलचित्रको प्रसँसा गर्दा केदार हर्षित देखिए । कतै उनले हर्षका कारण आँसु थाम्न सकेनन् । हसाउँदै चलचित्रबाट अत्यन्त राम्रो सन्देश दिएको भन्दै दर्शकले केदारलाई अंकमाल गर्दै उनको कामको खुलेुर तारिफ गरे । कतै केदारलाई दर्शकले बोक्दै उनको प्रशंसामा नाराबाजी समेत लगाए ।
माग्ने राजाको मुख्य अभिनेता केदार घिमिरेले आफू भुइँमान्छेलाई दर्शकको यस्तो आर्शिवादले उत्साहित बनाएको बताए । त्यससँगै आगामी दिनमा अझै राम्रो सिनेमामा काम गर्नु पर्ने चुनौती थपिएको उनको कथन थियो ।
चलचित्र वितरक रोहितकुमार कट्टेलका अनुसार ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि सर्वाधिक दर्शक पाएको हो । कट्टेलले चलचित्रले सदाबहार दर्शक पाउने पहिलो श्रेणीका हलमा मात्र होइन चाडबाडमा मात्र हाउसफुल व्यापार गर्ने हलमा पनि हाउसफुलको व्यापार गरेको बताएका छन् । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे ।
‘पछिल्लो समय वैशाखमा प्रदर्शन भएको ऊनको स्वेटरले सुरुवातदेखि नै राम्रो व्यापार गरेको थियो । त्यसपछिको राम्रो व्यापार माग्ने राजाकै मान्नुपर्छ । अझ यो चलचित्रले मंगलबारपछि आक्रामक कमाइ गर्ने मेरो अनुमान छ,’ कट्टेलले भने । मंगलबार तीजको बिदा रहेको र चलचित्रका महिला दर्शक त्यसपछि फुर्सद हुने हुनाले यसको फाइदा चलचित्रलाई पुग्ने उनको तर्क छ ।
काठमाडौँको क्युएफएक्स चेनमा आइतबार पनि माग्ने राजाले उच्च शो पाएको छ । सँगैको चलचित्र जनै हराएको मान्छेको हलमा खडेरी लाग्दै गर्दा माग्ने राजामा दर्शकको लहर बढेको छ ।
निर्देशक ऋषि लामिछाने पनि तीज पछि चलचित्रका दर्शक थप बढ्ने विश्वासमा छन् । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन् । ‘मुखैमा तीज रहेकाले महिला दर्शक अझै हलमा आउन भ्याउनु भएको छैन भन्ने लागिरहेको छ । परिवार नै बसेर हेर्न मिल्ने चलचित्र रहेकाले तीजपछि हलमा पारिवारिक माहोल अझ बढ्ने विश्वास छ,’ लामिछानेले भने ।
मुनाल घिमिरेको निर्माण रहेको चलचित्रले मनोरञ्जन र सन्देशलाई सुन्तुलित हिसाबले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । छक्का पञ्जा सिरिज बाहिर आएर पहिलो पल्ट मुख्य नायकको रुपमा चलचित्रलाई हाँकेका केदार घिमिरेको हास्यप्रधान चरित्रलाई दर्शकले भरपुर रुचाएको प्रतिक्रिया दिएका छन् । चलचित्रमा वर्षा सिवाकोटी , विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि केदार घिमिरेको यात्रालाई मज्जाले साथ दिएका छन् ।