ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ
लक्ष्मण रिजालको निर्देशनमा नयाँ चलचित्र ‘काजी’को निर्माण सुरु भएको छ । यो चलचित्रको स्याङ्जाबाट छायांकन सुरु भएको छ ।
शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिमले शुक्रबार शुभ मुहूर्त सम्पन्न गरेक हो । त्यसपछि टोली छायांकनको लागि स्याङ्जा गएको हो । यो सिनेमाको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको छ । सोही सेटबाट चलचित्रको छायांकन सुरु गरिएको छ ।
‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका चलचित्र निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’ चलचित्र निर्माण गरेका लक्ष्मण ८ वर्षपछि निर्देशनमा फर्केका हुन् । काजीको स्क्रिप्ट मन परेर आफू निर्देशनमा फर्केको लक्ष्मणले बताएका छन् ।
आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सोसल लभस्टोरी सिनेमालाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् । यो सिनेमा निर्माणमा आफुले यसअघिका सिनेमामा देखिएका कमकमजोरीलाई सच्याउँदै उत्कृष्ट बनाउने प्रयास रहने बताउँछन् ।
काजीमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य कलाकार को–को रहेका छन् भन्ने विस्तारै सार्वजनिक गर्दै जाने जानकारी निर्माण टिमले दिएको छ ।
प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई चिन्तनराज भण्डारीले खिच्दै छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका हुन् । यो सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।