जनै हराएको मान्छेमा निदाए दर्शक, हलमा दर्शक घट्दै


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ

अघिल्लो चलचित्र पूर्णबहादुरको सारंगीमा अभिनेता बिजय बरालले प्राप्त गरेको सफलताको साख उनको नयाँ चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’बाट नजोगिने भएको छ । ३० लाख रुपैयाँ पारिश्रमिक दिएर बिजयलाई निर्माण पक्षले यो चलचित्रमा अनुबन्धित गरेका थिए । तर शु्क्रबार दिउँसोसम्मको शो हेर्दा चलचित्रको व्यापार निराशाजनक छ ।

नयाँ निर्देशक हिमाल न्यौपानेको काम दर्शकलाई त्यति मन परेन । चलचित्र मध्यान्तरपछि निकै स्थिर भएको र आफूहरु मध्यन्तर पछि धेरै ठाउँ निदएको प्रतिक्रिया शुक्रबार बिहान यो चलचित्र हेरेका दर्शकले ब्युटि न्युज नेपाललाई दिएका छन् ।

शुक्रबारबाटै रिलिज भएको चलचित्र ‘माग्ने राजा’ले ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’लाई व्यबसायिक रुपमा निकै पछि छाडेको छ । माग्ने राजाको शो शुक्रबार दिउँसोबाट ह्वात्तै बढेको छ भने ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’को शो घट्दै गएको छ । चलचित्रमा केही दर्शकले आँसु झारेको फन्डालाई व्यापार बनाउन खोजे पनि सो फन्डाले खास्सै अर्थ राखेको छैन । अब भोली शनिबार यो चलचित्रले दर्शक तान्यो भने केही होला । नत्र पूर्णबहादुरको सारंगीमा बिजय बरालले कमाएको साख ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ले ध्वस्त बनाउँछ ।