माग्ने राजाको अग्रिम टिकट खुल्ला, टिकट बिक्री पहिलो नम्बरमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ भदौ

सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने गरी युनिभर्सल (यु) प्रमाणपत्र पाएको यो वर्षको लोकप्रिय मध्यको एक चलचित्र ‘माग्ने राजा’ यही शुक्रबार ६ भदौबाट तीजको अवसर पारेर रिलिज गरिँदैछ । चलचित्रको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ ।

यसैका लागि मंगलबार सिनेमाको निर्माण टिम काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको हो । जहाँ सिनेमाका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढ) र निर्देशक ऋषि लामिछाने पुगेका थिए । उनीहरु दुवै जनाले स्कुल तथा कलेजका विद्यार्थीलाई सिनेमा हेर्न अनुरोध समेत गरेका छन् । त्यससँगै अभिनेता माग्ने बुढाले सिनेमाको गीतमा विद्यार्थीसँग नृत्य समेत गरेका हुन् ।

यो चलचित्रको मंगलबारबाट यो सिनेमाको अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिएको छ । सुरुवाती चरणमा सिनेमाले उत्साहजनक शो पाएको छ । सवै हलले शो नखोली सकेकाले भोली बुधबार साँझसम्म देशभरका अधिकांश म्लटीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले अग्रीम टिकट बुकिङ खुल्ला गरिसक्ने अपेक्षा निर्माण टिमको छ ।

दर्शकमाझ यो सिनेमाको चर्चा व्यापक छ । सिनेमाले हाइप अनुसार सुखद् ओपनिङ गर्ने विश्वास गरिएको छ । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमालाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । सिनेमामा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।