ऐरीका निर्माताद्धारा नायक धिरज मगर विरुद्ध १४ करोड क्षतिपूर्तिको उजुरी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ भदौ

नायक धिरज मगर चलचित्र ऐरी टिमको बैरी बनेका छन् । यो फिल्मको छायांकनको लागि धिरजले समय नदिएपछि उनी बैरी सावित भएका हुन् । यो चलचित्रको लागि १० लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धि भएकार अग्रिम ४ लाख लिएर छायांकनको समय सम्पर्क विहीन भई धिरजले धोका दिए । यही आरोपमा यसका निर्माताले नेपाल चलचित्र निर्माता संघमा धिरज बिरुद्ध धोकाको उजुरी दिएको छ ।

चलचित्र ‘ऐरी’का निर्माता कमलबहादुर आलेले धिरज विरुद्ध निर्माता कम्पनी मल्टिम्याट प्रा.लि.का तर्फबाट १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ क्षतिपूर्तिको माग सहित संघमा सोमबार उजुरी गरेका थिए । यो कुरा निर्माता संघका अध्यक्ष नवल खड्काले पनि पुष्टि गरेका छन् ।

चलचित्रको छायांकन अवधिमा बारम्बार ताकेता गर्दा पनि अभिनेता धिरज मगर उपस्थित नभए पछि उनको अनुपस्थितिमा कम्पनीलाई १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ नोक्सान भएकाले सो रकम निज धिरज मगरबाट क्षतिपूर्ति गराई पाउँ भनेर निवेदनमा निर्माता आलेले किटानी गरेका छन् ।

सो चलचित्रमा ४१ दिनको लागि अनुबन्धित भएकोमा १६ दिन मात्र छायांकन गरेर धिरज लापता भएको आरोप सो निवेदनमा छ । धिरज अहिले नयाँ चलचित्र ‘मैझारो’को छायांकनका लागि इलामको एक गाउँमा छन भनेर उनले कसैको पनि फोन उठाएको छैनन् ।

धिरज चलचित्र ‘मैझारो’को छायांकन सकेर काठमाडौँ आएपछि निर्माता संघले धिरज र निर्माता आलेबिच कुराकानी गराउने छ । निर्माता संघको पहलमा बार्ता नमिले निर्माता संघले अदालतमा जान सल्लाह दिने छ ।