ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ साउन
‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरले यतिबेला सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्राप्त प्रतिक्रियाले निर्माणपक्ष अहिले दङ्ग छ । ट्रेलरलले यो कथा देखाएको छ । नेपालीमा तेस्रो लिंगीहरु अझै पनि आफूलाई लैंगिक रुपमा सार्वजनिक गर्न सकेका छैनन् । घर, परिवार र समाजको डरले र आफैँ बहिस्कृत हुने त्रासले तेस्रोलिंगीहरू आफ्नो असली लिंगीय पहिचान दबाएर बसिरहेका छन् । कसरी बसिरहेका छन् त्यसको केही झलक चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’को ट्रेलरमा देखिन्छ ।
आगामी १३ भदौमा रिलिज हुने यो चलचित्रको ट्रेलर अनुसार जहाँ छोरो महिलाको नेचरको छ । तर, बाउआमा, साथी, आफन्त, छिमेकी साराले उसलाई हेय भावले हेरिरहेका छन् । छोरोको चाहाना हातभरी छन्छन् चुरा, आँखामा गाजल र सारीचोलो लगाएर बाँच्नेछ । तर, बाउ छोरोलाई लाउरे बनाउने हरदिन टर्चर दिन्छन् ।
“हामीले जस्तो अपेक्षासहित सिनेमा बनाएको थियौँ । त्यसको नजिक पुगेको ट्रेलरको प्रतिक्रियाले छनक दिइरहेको छ,” निर्देशक समुद्र भट्टले भनिन्, “ट्रेलरजस्तै प्रतिक्रिया र माया चलचित्रबाट पायौँ भने हामी सफल हुनेछौँ । र, हामी सफलताको नजिक रहेको ट्रेलरले देखाएको छ ।”
नेपालमा दबिएर बसेको र आफ्नो आवाज बाहिर ल्याउन नसकेको समुदायको बोली आफ्नो टिमले चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’मार्फत् बोलेको उनले बताइन् ।
चलचित्रका मुख्य अभिनेता नाजिर हुसेन पनि सिनेमालाई लिएर ठूलो अपेक्षामा छन् । जुन गीत र ट्रेलरले अपेक्षा पूरा हुँदै गएको उनको भनाइ छ । दशक अगाडि ‘होस्टेल’ले रामेश्वर यादवको पहिचान दिएको भन्दै अब चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’को ट्रेलरले आफूलाई नयाँ चरित्रमार्फत दर्शक माझ चिनाउने नाजिर बताउँछन् ।
समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । ‘गुन्यु चोलो ः द ड्रेस’मा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ ।
चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।
चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।