जनै हराएको मान्छेको मसुरीको दाना सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

आगामी ६ भदौमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को नयाँ गीत ‘मसुरीको दाना…’ को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदले यो गीत लेखेका हुन् । गीतमा एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारको अभिनय छ । भिडियोलाई सुनिल क्षेत्रीको कोरियोग्राफी गरेका हुन् । प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।

टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा उल्लेख छ । भिडियोमा विजय बरालले मेहनत गरेका छन् । कोरियोग्राफीमा पनि मेहनत गर्दा भिडियो राम्रो बनेको छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।