देशभरका फिल्म हलमा यो मन त मेरो नेपाली हो रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असार

आज शुक्रवार २७ असारबाट नयाँ नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ देशभरका फिल्म हलमा रिलिज भएको छ । आफ्नो चलचित्र देशको १०० भन्दा धेरै चलचित्र घरमा रिलिज भएको यसका निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले ब्युटी न्युज नेपाललाई जानकारी गराए ।

यो चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रले प्रिमियर शोमा निकै राम्रो प्रशंसा पाएको थियो । त्यसैले चलचित्र घरमा पनि यसलाई दर्शकले मन पराउने निर्माण पक्षको विश्वास छ । यो चलचित्रका निर्देशक नर प्रधान (मित्र) हुन् । उनले यो चलचित्रमा विभिन्न देशमा रहेका नेपालीहरूले नेपाली भाषाको संरक्षण र प्रवर्धनको लागि गरेको संघर्षको कथा समेटेका छन् । चलचित्रको कथा पनि मित्रले नै लेखेका हुन् । जसमा पटकथा सम्वाद शिवम अधिकारीको रहेको छ ।

यो चलचित्रमा कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स रहेको छ ।

जसमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईले संगीत सृजना गरेका छन् । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।