ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असार
नेपाली चलचित्र ‘माग्ने राजा’को पहिलो गीतको भिडियो ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक डान्सिङ नम्बर गीत ‘त्यो मिठो जोवन…’मा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । दीपकले गीतलाई निकै राम्रो बनाएका छन् । गीतमा गायिका रचना रिमाल र गायक सविन सुवेदीको स्वर रहेको छ ।
चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको आगामी भदौमा रिलिज हुँदैछ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा केदार घिमिरे र वर्षा सिवाकोटीको अभिनय एवम् नृत्य रहेको छ । यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको सिनेमालाई मधुसुदन शर्माले निर्माण गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने देखिन्छ ।
यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने र सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि लामो समयपछि चलचित्रमा फर्केका हुन् । मुनाल उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्माको संगीत रहेको छ ।