ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असार
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा गत १९ असारबाट ललितपुरको सुनाकोठीमा ‘प्रथम सुनाकोठी सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२’ चलिरहेको छ । ललितपुर महानगरपालिका २७ नम्बर वडा कार्यालय सँगै चापागाउँ जाने मुलबाटो नजिक यो महोत्सव जारी छ । महोत्सव ३२ असारसम्म जारी रहने महोत्सव आयोजक एवम् बरिष्ट लोक गायक नमराज ढुंगानाले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।
महोत्सवमा विभिन्न स्थानीय घरेलु सामग्री, कृषिजन्य सामग्री एवम् औधोगिक उत्पादनका सामग्रीहरु सस्तो मुल्यमा बिक्रीमा राखिएको छ । महोत्सवमा दैनिक जसो नेपालका चर्चित कलाकारहरुले गीत संगीत, नृत्य एवम् प्रहसन प्रस्तुत गर्दै आएका छन् ।
यसै क्रममा महोत्वमा आज २५ असार बुधबारका दिन गजल क्विनको रुपमा परिचित लोकप्रिय गायिका निशा देशारले आफ्ना गीत संगीत प्रस्तुत गर्दैछिन् । आज गायिका निशा सहित अर्का चर्चित गायक डिजराज पौडेलको पनि विशेष प्रस्तुति रहने नमराजले जानकारी गराएका छन् ।
गायक सुवास महतले निकै रमाईलोसँग सञ्चालन गर्दै आएको यो महोत्सवलाई आज पनि उनले नै सञ्चालन गर्ने छन् । आज महोत्सवमा गायक राम महतसँगै प्रतिमा अर्यालको पनि विशेष प्रस्तुति रहने छ ।
साथमा स्थानीय कलाकारहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्ने छन् । सांस्कृतिक कार्यक्रम हेर्नको लागि आजको प्रवेश शुल्क ८० रुपैयाँ राखिएको छ भने विधार्थीलाई छुट स्वरुप ५० रुपैयाँ मात्र राखिएको आयोजक नमराज ढुंगानाले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।