रुचाईयो सिटामोलको टिजर


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ साउन

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ को टिजर सार्वजनिक भैसकेको छ । टिजरलाई दर्शकले रुचाएका छन् । टिजरको कमेन्टबक्समा अभिनेता सौगात मल्ल र बेनिशा हमालको केमेष्ट्री निकै जमेको प्रतिक्रिया दिएका छन् । ‘झ्यानाकुटी’पछि पुनः यो जोडीलाई पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दर्शकको छ । सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि उत्साहित देखिन्छ ।

सिनेमाका निर्देशक राज बहादुर साने टिजरले दर्शकमाझ पाएको प्रतिक्रियाले आगामी प्रचार सामाग्री गीत र ट्रेलर उत्कृष्ट दिनु पर्ने चुनौती थपिएको बताउँछन् । सिनेमाका दुवै प्रचार सामाग्रीले दर्शकको अपेक्षा उच्च बनाएकाले अब आउने गीत र ट्रेलर अझै परिस्कृत भएर आउने विश्वास निर्माताद्धय भुगोल कार्की र विकासराज जोशीको छ ।

’सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् । सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।

यो चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।