चलचित्र महाभोजको लालुमै गीत भिडियो रिलिज 


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ वैशाख

नेपाली चलचित्र ‘महाभोज’को गीत ‘लालुमै..’को भिडियो आइतबार काठमाडौँमा आयोजित एक समारोहका बिच सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी जेठ १५ मा रिलिज हुने छ ।

निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको संगीत संयोजन र केतन क्षेत्रीकै उत्पादन रहेको छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ । कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा सजाएका छन् । गीतको भिडियोमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको विशेष भूमिकामा छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ’महाभोज’ले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए । कार्यक्रममा उपस्थित कलाकारहरूले चलचित्र तथा गीत छायाङ्कनका अनुभव प्रस्तुत गरे । विशेष गरी दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभएता पनि ’महाभोज’का गीतहरूमा नृत्य गरेको बताए ।

यो गीतका गायक निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए । सन् २०१२ मा एकै वर्ष चलचित्र निर्देशक सुरुआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित चलचित्र ’पर्व’मा सहकार्य गरेका थिए । सो चलचित्रको चर्चित गीत ’काले दाइ’मा निश्चलले स्वर दिएका थिए भने नृत्य समेत गरेका थिए ।

‘महाभोज’ एकै दिन नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।

चलचित्र ’महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।