चलचित्र‘ऊनको स्विटरको ट्रेलरमा अन्तरजातीय प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ वैशाख

उ बासी काफ्ले बाहुनको छोरो, गाउँकै एउटा गुरुङ युवतीलाई औधी मन पराउँछ । प्रेम सम्बन्ध झाँगिएपछि गुरुङ युवतीले पनि आफ्नो प्रेमी बाहुनलाई मायाको चिनो स्वरूप उनको स्विटर बुनेर दिने बाचा गर्छिन् । तर बाचा पुरा नहुँदै प्रेमी औल तिर झर्दै पश्चिम बंगालको सीमातिर पुग्छन् । कथा यहीँ टुङ्गिँदैन । ती काफ्ले बाहुन फेरी गाउँमा आउँदा परिवारमा कुल चढेर बिजोग हुन्छ । तै पनि हिम्मत कसेर आफ्नी गुरुङ प्रेमिकालाई माग्नको लागि गुरुङ रित पुर्याएर ती काफ्ले युवा एक दिन प्रेमिकाको घरमा पुग्छन् । अनि गुरुङ रित अनुसार युवतीको हात पनि माग्छन् । यसपछि के हुन्छ ? त्यो भने चलचित्र ऊनको स्विटर नै हेर्नु पर्छ ।

नेपाली चलचित्र ‘ऊनको स्विटर’को ट्रेलरको कथा हो यो । मंगलवार काठमाडौँमा एक समारोहबिच यो ट्रेलर सार्वजनिक गरियो । यो चलचित्र वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा छ । चलचित्र आउनु १० दिन अघि ट्रेलर रिलिज भएको हो ।

 

आर्टमाण्डू प्रा.लि.ले यो चलचित्र बनाएको हो । पूर्वी नेपालको पाँचथरको न्वागी डाँडाको सेरोफेरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । जहाँ गुरुङ युवती र काफ्ले युवाबिचको अन्तरजातीय प्रेम सम्बन्धको उतार चढाव प्रस्तुत छ ।

यो चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् । विगतमा इलाम, पाँचथर ताप्लेजुङमा आधा दर्जन म्युजिक भिडियो आफ्नो निर्देशनमा छायांकन गरेर दर्शकमाझ ल्याएका नवीन यस पटक चलचित्र नै तयार गरेर दर्शकमाझ आउँदै छन् ।

चलचित्र ऊनको स्विटरमा विपिन कार्कीसँगै मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, भावना खपांगीमगर, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ । सुजन चापागाईँ र झुमा लिम्बुको संगीत, नवीन चौहानकै लेखनमा यो चलचित्र तयार भएको हो ।