कृपाबाट रत्न शमशेर र योगेश बैद्य सम्मानित


काठमाडौं । ५ फागुन
कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको बीच ‘कृपा संगीत रत्न सम्मान’बाट अग्रज गीकार साहित्यकार रत्न शमशेर थापा र अग्रज गायक योगेश बैद्यलाई सम्मान गरेको छ ।
कार्यक्रममा थापा र बैद्यलाई अग्रज गायक प्रेमध्वज प्रधान, फाउन्डेसनका अध्यक्ष शिव कुमार लामिछाने, फाउन्डेसन संरक्षक बिष्णुमाया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले दोसल्ला ओढाउदै ताम्रपत्र सहित सम्मान गरे ।


पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराईरहेका अग्रज गायक ओम बिक्रम बिष्टका लागि उनका छोरालाई फाउन्डेसनको तर्फाबाट सो कार्यक्रममा ५१ हजार रुपैयाँ प्रदान गरियो ।
सम्मानित सर्जकप्रति समर्पित गर्दै गायक शिव कुमार लामिछानेले कार्यक्रममा केहि गीत प्रस्तुत गरे । उनले रत्न शमशेर थापाद्वारा रचित एवं स्वरसम्राट नारायण गोपालद्वारा संगीत स्वरबद्ध गीत स्वर्गकी रानी…, सहित विभिन्न गीत ग गाए । कृपा अन्प्लगडका कलाकारलाई सोही क्रममा रोयल्टी प्रदान गरियो ।
कृपा फाउन्डेसनको पहिलो वार्षिक उत्सव र गायक ओम बिक्रम विष्टको जन्मोत्सव अबसरमा कार्यक्रममा केक पनि काटियो । सगरमाथाको आरोहन गर्ने तयारीमा रहनु भएका महिला पत्रकारको समुहलाई बराह ज्वेलरीको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग प्रदान गरियो । आरोहणको तयारीमा रहेको महिला पत्रकार समुहमा रोसा बस्नेत, लक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चाम्लिङलाई सो रकम प्रदान गरिएको हो ।
कार्यक्रममा फाउन्डेसनको जय नेपाल… गीतको भिडियो पनि सार्वजनिक गरियो । गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत एवं शिव लामिछानेले स्वर छ । यसलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् ।