तारा एयरको दुर्घटना ग्रस्त जहाज कोबाङ गाउँको माथी सानुसरेमा भेटियो, शब पहिचान गर्न कठिन


ब्युटी न्युज नेपाल
पोखरा, १६ जेठ

आईतबार विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको तारा एयर थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ । तर अहिलेसम्म उद्धार गर्न सकिएको छैन । स्थनीयका अनुसार बिमानमा सबार व्यक्तिहरुको शब पहिचान गर्न गाह्रो भएको छ ।

आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ । हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ।

तारा एअरको ९ एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए।यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको थिए । थियो।

तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन । उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताए । ‘सेनाको हेलिकोप्टर उद्धारका लागि हिजै जोमसोम गएको हो । तर, इन्धन सकिएको छ । हामीले भर्खरै पठाएका छौँ । इन्धन पुगेपछि सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार थाल्ने छ ।’