कोरोना सँक्रमणबाट थप २ को मृत्यु 


ब्युटी न्युज नेपाल

काठमाडौं, १६ साउन

आज कोरोना सँक्रमणबाट २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट वीरगञ्जमा १ व्यक्तिको र ललितपुरमा १ व्यक्तिको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । बिहीबार मात्र वीरगन्जमा उपचारको क्रममा कोरोनोबाट ३ जना मृत्यु भएको थियो ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका ५६ वर्षीय पुरुषको गएराती निधन भएको हो । मुटुको समस्याबाट पीडित ती व्यक्तिमा कोरोना पुष्टी भएपछि ७ साउनमा वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । सघन उपचार कक्षमा राखेर केही दिनदेखि उपचार गरिहेका ती व्यक्तिको उपचार क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

ललितपुर थसिखेलका ६५ वर्षीया महिलाको कोरोना सँक्रमणबाट ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान सवा नै बजे मृत्यु भएको छ ।

बीरगञ्जबाट आएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि ६ साउनमा स्टार अस्पताल ललितपुरमा भर्ना गरिएको थियो । उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारेर उपचार गरिएको थियो । पाटन अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो ।