राष्ट्रिय चलचित्र पुरस्कार रोकियो


राजधानी समाचारदाता
काठमाडौं, ५ असार

चलचित्र विकाश बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार कोरोना सँक्रमणका कारण यो वर्ष नहुने भएको छ । बोर्डका अध्यक्ष दयाराम दाहालले हाललाई पुरस्कार स्थगित गरेको बताउँदै अर्को पटक प्रदान गरिने भनेका छन् ।
वर्षभरी प्रदर्शनीमा आएका चलचित्रबाट प्रतिस्पर्धाको आधारमा विभिन्न ८ विधामा उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गर्दै आएको थियो । बोर्डको वार्षिकोत्सवको अवसर पारेर १६ असारमा यो पुरस्कार प्रदान गरिँदै आएको छ । विगतमा राष्ट्रपति निवासमा पुरस्कार कार्यक्रम गरी राष्ट्रपतिको हातबाट चलचित्रकर्मीलाई बोर्डले पुरस्कृत गर्दै आएको हो । चलचित्र क्षेत्रकै ठूलो राशी भएको दीर्घ साधना सम्मान पनि बोर्डले प्रदान गर्दै आएको थियो ।

चलचित्र विकास बोर्ड २०५७ साल १६ असारमा स्थापना भएको हो । बोर्डले १६ असारलाई आफ्नो वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ । बोर्डले यही असार १६ गते आफ्नो २०औं वार्षिकोत्सव मनाउँदै छ । यसपटक कोरोना संक्रमणको कारण देखाउँदै बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार स्थगित गरेको छ ।

सरकारले मुलुकमा कोरोना संक्रमण महामारीको रूपमा फैलिएका कारण केही महिना कुनै प्रकारका कार्यक्रम नगर्न सरकारी निकायहरूलाई पत्रचार गरेको छ । सोही कारण २०७६ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्षका लागि स्थगित भएको चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले बताएका छन् । यसपटक बोर्डको वार्षिकोत्सवको अवसरमा कुनै कार्यक्रम नगरिने पनि दाहालले बताएका छन् ।

आफू बोर्ड अध्यक्षमा नियुक्त भएपछि दाहालले यतिबेला चलचित्रसम्बन्धी विभिन्न संघसंस्थाका पदाधिकारीहरूसँग नेपाली चलचित्र उद्योगलाई अब कसरी अघि बढाउने भन्नेबारे छलफल चलाइरहेका छन् । अहिले सबै संघसंस्थाका प्रतिनिधिहरूसँग भेटेर उनीहरूको समास्यालाई सुन्ने र त्यसलाई रिपोर्ट बनाएर मन्त्रालय पठाउने कार्य भईरहेको उनले बताए । अब चलचित्र क्षेत्रको लागि केही राहत प्याकेज ल्याउने पनि उनको कथन छ ।