सर्लाहीमा बढ्यो सँक्रमण, गोडैता नगरपालिका सिल


ब्युटी न्युज नेपाल
सर्लाही, १० जेठ

धनकौलाबाट कोरोना सुरु भएको सर्लाही जिल्लामा यसले बिस्तारै महामारीको रुप लिन थालेको छ । यसै क्रममा सर्लाहीको गोडैता नगरपालिकामा एकसाथ शुक्रबार १३ जना कोरोना संक्रमण देखियो । शनिबार थप १२ जना संक्रमित भेटिए । गोडैता नगरपालिकामा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । नगरपालिकामा दुई दिनमै २५ जनामा कोरोना सँक्रमण देखिएपछि  यो नगरपालिकालाई सिल गरिएको छ ।

नगरपालिकाले कोरोनाको जोखिमबाट नगरवासीलाई बचाउन वडा नं. १ देखि १२ सम्मलाई शिल गरेको हो ।औषधी पसल, खाद्यपसल र बितिय संस्थासहित अति आवश्यक सेवा बाहेक सबै बन्द गर्न पनि नगरपालिकाको सूचना जारी गरेको छ ।

एकसाथ शुक्रबार १३ जना कोरोना संक्रमण भेटिएका गोडैता नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिय पुरुषा, वडा नं. ८ बस्ने ३४ वर्षिय पुरुष, वडा नं. ९ बस्ने १८ वर्षिया महिला, वडा नं. १२ बस्ने ३८ वर्षिय पुरुष र वडा नं. ११ बस्ने २५, ३२, २७, २५, २२, ३८, ३८, २४, ३५ वर्षिय पुरुषहरु रहेका छन् । यस्तै रामनगरको १ जना गरी जम्मा १४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । कोरोना संक्रमित व्यक्तिहरु भारतका विभिन्न ठाउँबाट आएका हुन् ।

शनिबार सँक्रमित भेटिएका गोडैता १२ र कविलासी नगरपालिकाका १ जना रहेका छन् । गोडैताका १२ जनामा १ जना १८ वर्षका ३ जना २० वर्षका र बाँकी अरु २१, २२, २३, २६, २६, २८, ३५, ३५ वर्षका पुरुष रहेका छन् । यहाँ कोरोना सँक्रमितको सँख्या ह्वात्तै बढेपछि आईसोलेसनको अभाव देखिएको छ ।
सर्लाहीमा कुल संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये दुई जना काठमाडौंमै बस्दै आए पनि बाँकी यहींका छन् ।

यस अघि पनि रामनगर गाउँपालिका बहुअर्वा गाउँकै १८ वर्षिया युवती ,धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरको त्रियुगा नगरपालिका का ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।

हाल गोडैता नगरपालिकामा सिसौटिया, गोडैता, सिमरा भगवतीपुर,बेल्वा जब्दी र मधुवनी गरी पाँच ठाउँमा रहेको क्वारेन्टाइनमा भारतबाट आएको १ सय ६४ जना बसिरहेकोमा उनीहरुको कोरोना परिक्षणको तयारी हुँदैछ ।