निर्माताद्धारा सरकारसँग राहत प्याकेज माग


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ चैत

नेपाल चलचित्र निर्माता संघले सिनेमा हल बन्दको अबस्थामा आफुहरुलाई सरकारले राहत दिनु पर्ने मागसहित विज्ञप्ति जारी गरेको छ । संघका महासचिब रोज राणाले बिहिबार बेलुका यो बिज्ञप्ति जारी गरेका हुन् ।

सो विज्ञप्तिमा यस्तो लेखिएको छ ,‘विश्वभरी महामारीको रुपमा तिव्रगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट नेपाल पनी परोक्ष रुपमा प्रभावित भइरहेको छ । पर्यटकीय दृष्टिकोणबाट नेपालको प्रमुख आयश्रोत मध्येको एक पर्यटन उद्योग र यसको संबाहकको रुपमा श्रव्य तथा दृष्यको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय चलचित्र तथा गीत संगीत उद्योग नराम्ररी प्रभावित भइरहेको छ ।’

जसमा अगाडि यस्तो लेखिएको छ,‘अरबौको लगानी रहेको यस क्षेत्र निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ । विश्व स्वास्थ्य संगठनले तिव्र गतीमा महामारिको रुपमा फैलिइ विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरसको उच्च जोखिममा सूचीकृत गरेको हाम्रो हिमाली मुलूकको आर्थिक सूचांकमा दिनानुदिन गिरावट आइरहेको छ ।’

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट सिनेमाहल, सांस्कृतिक केन्द्र लगायतका वढी भिडभाड हुने स्थलहरु वैशाख १८ गतेसम्म बन्द रहने गरिएको निर्णय प्रति नेपाली चलचित्र तथा गीत संगीत क्षेत्र स्वागत र उच्च सम्मान गर्दछ भन्ने कुरा पनि बिज्ञप्तिमा उल्लेख छ ।

आमजनताको स्वास्थ्यलाई मध्यनजर गर्दै देश र जनताका लागि गरिएको उक्त निर्णयको असर समानान्तर असर देशको अरु क्षेत्रजस्तै चलचित्र क्षेत्रलाई पर्न गएको छ र यसबाट चलचित्र क्षेत्रसँग आश्रित रहेका लाखौं चलचित्रकर्मीलाई असर पर्न गएको विज्ञप्तिमा उल्लेख गरिएको छ,‘श्रमजिवी चलचित्रकर्मी, लगानीकर्ता, सिनेमा घर व्यवसायी प्रभावित रहने हुँदा राज्यको राष्ट्रिय प्राथमिक्ता प्राप्त उद्योगमा दर्ज रहेको राष्ट्रिय चलचित्र तथा गीत संगीत उद्योगको हितका लागि कोरोना भाइरसको पूर्ण नियन्त्रणमा आई परिस्थिति सहज नहुदासम्मका लागि राष्ट्रिय चलचित्र उद्योगको पक्षमा नेपाल सरकारबाट तपशिल बमोजिमको राहात व्यवस्था भएको खण्डमा भाषा, साहित्य, कला, संस्कृति, पर्यटनको संयोजित स्वरुप रहेको राष्ट्रिय चलचित्र तथा गीत संगीत क्षेत्रले राहतको महशुस गर्ने र सिङ्गो चलचित्र तथा गीत संगीत उद्योग नेपाल सरकार प्रति कृतज्ञ रहने थियो ।’

संघद्धारा प्रेषित बिज्ञप्तिमा नेपालभरका सिनेमा घरहरुले प्रयोग गर्ने विजुली बत्तीको भुक्तानीमा मिनाहा, नेपाली चलचित्रको टिकट रकममा लाग्ने अतिरिक्त मुल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रुपमा मिनाहा गरिनु पर्ने माग गरिएको छ । यस्तै चलचित्र तथा गीत संगीत क्षेत्रका कलाकार, श्रमिकहरुले चलचित्र सम्बन्धी काम गरे वापत प्राप्त गर्ने पारिश्रमिकमा कटाइने कर (टिडिएस) मिनाहा गरिनु पर्ने माग पनि उठाईएको छ ।

यस्तै चलचित्र निर्माण, प्रदर्शक र गीत संगीत उत्पादन गर्ने कम्पनीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको कर्जाहरुमा लाग्ने व्याज पूर्ण रुपमा मिनाहा गरिनु पर्ने माग पनि बिज्ञप्तिमार्फत उठाईएको छ । यो विज्ञप्तिबारे सरकारको कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन ।