नेफ्टा अवार्डको चलचित्र हेर्ने क्रम सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ

नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँच मनोनयन छनोटको लागी निर्णायक टिमले फिल्म हेर्ने काम सुरु गरेको छ । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अवार्डमा सहभागिताको लागी दर्ता भएका फिल्महरु बुधबारबाट हेर्नेक्रम सुरु भएको हो । नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपाल प्रा.लि. को आयोजनामा चैत्र २२ गते टुंडिखेलमा आयोजना यो अवार्ड हुने उनले बताए ।

अवार्ड समारोहमा कुल ३७ विधा समावेश छन् । जहाँ ३२ विधा प्रतिस्पर्धामा रहनेछन् भने अन्य विधाको बिजेता जुरी र आयोजकले तय गर्नेछ । अवार्डमा उत्कृष्ट कथा, पटकथा, श्रृङ्गार हेयर, ड्रेस डिजाइनर, ध्वनी मिश्रण, कला निर्देशन, द्वन्द्व निर्देशन, पार्श्व संगीत, चलचित्र सम्पादन, छायांकन, हाँस्य अभिनेता, खलनायक, सह अभिनेता, सह अभिनेत्री, नव निर्देशक, नव अभिनेता, नव अभिनेत्री, उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र, संवाद, एनिमेटर, चरित्र अभिनेता, चरित्र अभिनेत्री, बालकलाकार, एरेञ्जर, संगीतकार, गीतकार, पार्श्व गायक, पार्श्व गायिका, नृत्य निर्देशक गरी ३२ विधा अवार्डमा प्रतिस्पर्धामा रहनेछन् ।

अध्यक्ष लामाका अनुसार साथमा पपुपर फिल्म, अभिनेता, अभिनेत्री, बर्षको उत्कृष्ट जनजाती चलचित्र र जुरी अवार्ड क्रमशः आयोजक र जुरीले वितरण गर्नेछ । निर्णायक टिममा को को सदस्य छन् भन्ने कुरा भने पछि मात्र खुलाउने उनले बताए ।

नेफ्टा अवार्ड संयोजक गीता पौडेलका अनुसार जुरीबाट फिल्म हेर्ने क्रम सुरु भएसँगै आयोजक अन्य तयारीमा जुटिरहेको छ । अवार्डलाई उत्कृष्ट तथा भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने पनि उनले बताइन् । ’भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर नेपालमै आयोजना हुन लागिरहेको अवार्डले सरकारी अभियानमा हातेमालो गर्ने उनको विश्वास छ । गीतका अनुसार जुरीले फिल्म हेरिसकेपछि अर्को महिना अर्थात फागुन २४ गते नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक हुनेछ ।