चलचित्र विकाश बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ मँसिर

बरिष्ट अभिनेता, चलचित्र निर्माता एवम् चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईको आईतबार बेलुका ५१ वर्षको उमेरमा असामयिक निधन भएको छ । अध्यक्ष भट्टराई  बेलुका मन्त्रालयको भेटघाट सकेर साँझ ७ बजे चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्माता वितरक नरेन्द्र महर्जनको घर किर्तीपुरमा पारिवारिक भेटघाटका लागि गएका थिए । सो भेटघाट सकेर बेलुका ९ बजेतिर घरफर्कने क्रममा बाटोमा अध्यक्ष भट्टराईलाई अप्ठेरो महसुस भयो । त्यसपछि उनका ड्राईभर र छोराले अस्पताल लैजाने क्रममा ओम अस्पताल चावहिल पुर्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

उनको उपचारमा सम्लग्न चिकित्सकहरुले ब्युटी न्युज नेपालसँगको कुराकानीमा अध्यक्ष भट्टराईलाई अस्पताल ल्याउँदा उनको निधन भईसकेको बताए,‘उहाँलाई यहाँ ल्याउँनासाथ हामीले सबै परिक्षण गर्यौं । यसरी परीक्षण गर्दा अस्पताल ल्याउनु अघि नै उहाँको निधन भईसकेको हामीले पायौं ।’

बिगत डेढ दशकदेखि उच्च रक्तचापको औषधी सेवन गर्दै आएका अध्यक्ष भट्टराईको निधन हृदयघातका कारण हुनेसक्ने अनुमान परिवारको छ । आईतबार बेलुका उनको ओम अस्पताल उपचारका लागि पुर्याउने क्रममा निधन भएको हो ।
चिसोमा उच्च रक्तचापले दुःख दिने भएकाले उच्च रक्तचापको अनुमान गरिएको हो । भट्टराईको पार्थिव शरीरलाई आईसमा राख्न त्रिविवि शिक्षण अस्पतालमा आईतबार राती २ बजेपछि लागिएको छ । सम्भवत त्यहाँ उनको सोमबार मध्यान्नसम्म पोष्टमार्टम पनि हुनेछ ।

चलचित्र विकाश बोर्डका सदस्यसचिब महेन्द्र शाँखी र बोर्ड सदस्य दयाराम दाहालले अध्यक्ष भट्टराईको श्रद्धाञ्जली लगायतका कार्यक्रमबारे बोर्डले सोमबार बिहान निर्णय गर्ने बताए । दिवँगत भट्टराईको परिवारमा श्रीमती र एक छोरा छन् ।
आईतबार राती ओम अस्पताल पुगेका जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष खगेन्द्र राईले नरेन्द्र महर्जनको घरबाट आफुसँग सकुलस विदा लिएको तर केही समयपछि अकस्मात यस्तो दुःखद खबर सुन्दा आफु स्तव्ध भएको बताए । उन निधनको खबर सुनेर तत्कालै अस्पताल पुगेको बोर्ड सदस्य सचिब महेन्द्र साँखी, बोर्डका सदस्य नरेन्द्र महर्जन, बोर्डका सदस्य दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता एवम् चलचित्र निर्देशक दिनेश डिसी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतले अध्यक्ष भट्राईको निधन प्रति गहिरो दुःख व्यक्त गरे ।

२०२५ मँसिर ४ गते ओखलढुँगामा जन्मिएका  भट्टराईले २०४५ तिर तुलसी घिमिरेको चलचित्र कोसेलीबाट अभिनय यात्रा सुरु सुरु गरेका थिए । उनले पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनेता तथा चरित्र अभिनेता भएर काम गरिसकेका थिए । सफल नेपाली चलचित्र आफन्त, आफ्नो मान्छेका निर्माता भट्टराईले पहुना, देवरबाबु, कर्मयोद्धा, छोडी गए पाप लाग्ला, सो सिम्पाल, ब्रास्लेट, यात्रा जस्ता चलचित्र निर्माण गरेका थिए । बिगत ८ महिनादेखि चलचित्र विकाश बोर्डका अध्यक्ष रहेको भट्टराई यस अघि नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष थिए ।

नेपाल विधुत प्राधिकरणमा दुई दशक भन्दा लामो सेवा गरेका भट्टराईले बोर्ड अध्यक्ष भएपछि ८ महिना अघि प्राधिकरणबाट अबकास लिएका थिए । उनी अहिले राष्ट्रिय चलचित्र ऐनको निर्माणमा सक्रिए थिए । आगामी माघको अन्तिम साता भैरहवामा आयोजना गरिने राष्ट्रिय चलचित्र महोत्सब, चलचित्र सँग्राहलय भवन निर्माण र सँग्राहलय स्थापना, चलचित्र छायाँकनका भक्तपुरमा इन्डोर छायाँकन स्टुडियो सहित विभिन्न योजनामा व्यस्त थिए । चलचित्र पत्रकार संघ मकवानपुरको अन्तरक्रिया कार्यक्रमका लागि सोमबार त्यहाँ जाने र त्यसपछि  मँगलबार महोत्सबको थप कार्यका लागि भैरहवा जाने तयारी भईरहेको थियो ।

दिवँगत बरिष्ट कलाकार केशब भट्राई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै व्युटी न्युज नेपाल उनको परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।