रहिनन अभिनेत्री शुभद्रा अधिकारी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ साउन

नेपाली चलचित्र तथा नाट्य क्षेत्रकी बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी अब हामीमाझ रहिनन् । निमोनियको समस्याका कारण अभिनेत्री अधिकारीको शनिबार बिहान ८ बजे आफ्नै निवास डल्लुमा ७३ वर्षको उमेरमा निधन भएको छ ।

अस्पतालमा उपचार गरेर केही दिन अघिमात्र घर ल्याएकी अभिनेत्री अधिकारीको स्वास्थ्य अबस्था शुक्रबारसाँझ सामान्य थियो । शनिबार बिहानपख स्वास प्रश्वासको समस्या देखिएको थियो । उनी लामो समयदेखि दमको समस्यबाट पीडित थिईन् ।

उनको पशुपति आर्यघाटमा आज अपरान्ह अन्तिम संस्कार गरिने भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काका अनुसार उनको घर डल्लुबाट केही क्षणमा शबयात्रा सुरु गरेर पशुपति आर्यघाट पुर्याई शनिबार दिउँसो २ः१५ बजेबाट एक घन्टा पशुपति आर्यघाट प्राँगनमा श्रद्धाञ्जली सभाको आयोजना गरिँदैछ । त्यसपछि अन्त्यष्टी कार्यक्रम रहेको छ । परिवारमा उनका एक छोरा, एक छोरी छन् ।

वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट काठमाडौंको असनमा शुभद्रा अधिकारीको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । आमा कलाकार भएका कारण उनी आमाको प्रेरणाबाट कला क्षेत्रमा लागेकी हुन् ।

२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी शुभद्राले ‘कची मचा’ नाटकबाट अभिनय यात्रा सुरु गरेकी थिईन् । नाटकलाई निरन्तरता दिने क्रममा शुभद्राले बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, सहित ‘बुहार्तन’, ‘नालापानी’, ‘पलाँसको फूल’ जस्ता दर्जनौ नाटकमा अभिनय गरिन् ।

शुभद्राले आफ्नो फिल्मी यात्रा २०२८ सालमा प्रकाश थापा निदेर्शित चलचित्र ‘मनको बाँध’बाट चरित्र अभिनेत्रीको रुपमा सुरु गरिन् । त्यसपछि शुभद्राले ‘चिनो’, ‘कन्यादान’, ‘बेहुली’, ‘भाउजु’, ‘स्वर्ग’, ‘कर्जा’, ‘आमाको माया’, ‘आमा’, ‘मंगलसुत्र’, ‘बाटो मुनीको फूल’, ‘मुना मदन’, ‘मसान’ सहित तीन दर्जन भन्दा बढी चलचित्रमा चरित्र अभिनेत्रीको रुपमा काम गरिन् । उनी नेपाली चलचित्रको प्रारम्भिक कालखण्डकी अभिनेत्री हुन् ।

दिवँगत चरित्र अभिनेत्री शुभद्रा अधिकारीप्रति व्युटी न्युज नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।