मिल्यो गलबन्दी विवाद, यस्तो छ चारबुँदे सहमति


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

गलबन्दी च्यातियो…गीतको विवाद मिलेको छ । यसको विवाद सडक देखि सदनसम्म तातेको थियो । सामाजिक सञ्जालको पछिल्लो समयको तात्तातो बहसको विषय पनि यही बनेको थियो । गायक प्रकाश सपूतले गाएको ‘गलबन्दी च्यातियो…’ गीतको दुई सातादेखि चर्किएको प्रतिलिपि अधिकार सम्बन्धि विवाद आपसी सहमतिको आधारमा मिलेको छ ।

नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयको मातहतमा यो विवाद मिलेको छ । बुधबार सो कार्यालयमा बसेको बरिष्ट गायक गायक शम्भु राई, युवा गायक प्रकाश सपूत, रजिष्टार प्रकाश आचार्य, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खडका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ट उपाध्यक्ष रमेश बिजी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्की लगायतको उपस्थितिमा सो विवाद मिलेको हो ।

बरिष्ट संगीतकार तथा गायक शम्भु राईले आफ्नो गीत आउ नाचौं साथी हो कम्बर कसेर…बाट गायक प्रकाश सपूतले गाएको गीत गलबन्दी च्याचियो…. कपी गरेको आरोप लगाउँदै आएका थिए ।

बुधबारको छलफलपछि निम्न चारबुँदे सहमती गर्दै उनीहरुले यो विवाद टुँग्याएका छन् । सहमति पत्रमा शम्भु राई, प्रकाश सपूतसहित सबैले हस्ताक्षर गरेका छन् । सो चार बुँदे सहमती यस्तो छ ः

१. प्रकाश सपुतको लोक दोहोरी गीत ‘गलबन्दी’ बोलको लय र संगीतको नाम सन्दर्भमा छलफल हुँदा शम्भु राईबाट बिगतमा प्रकाशित भएको ‘देउसी भैलो’, गीतमा रहेको ‘आउ नाचौं साथी हो कम्बर कसेर…’ दुई दिनको जिन्दगी विताउँ हासेर’ भन्ने लय प्रकाश सपूतद्धारा, प्रकाशित गलबन्दी बोलको गीतको ‘गलबन्दी, पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजको आफ्नै ठानेर’ भन्ने अँशमा लय मिल्न गएको देखिएकोले लोक दोहोरी गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी गलबन्दी बोलको गीतलाई प्रकाशन गर्ने ।

२. गलबन्दी गीतको हालसम्मको तथा अब उप्रान्त समेत कुनै पनि माध्यमबाट (युट्युव लगायत अन्य डिजिटल माध्यमहरु) बाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार तथा श्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सपूतकै अधिकार रहने र शम्भु राईले कुनै पनि आर्थिक अधिकार एवं प्रतिलिपि अधिकारमा दावी नगर्ने साथै अन्य कुनै पनि डिजिटल प्लेटफर्महरुले उक्त गीतको संगीत मिल्न गएको भनि दाबी गरेमा सो समस्या दुबै पक्षले सहजीकरण गर्ने ।

३. शम्भु राईले यस गलबन्दी बोलको गीतको सन्दर्भमा मिति २०७६–०३–०५ मा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा तथा संघ संस्था निकायमा दिनु भएको निवेदनलाई यसै सहमतीका आधारमा फिर्ता÷तामेलीका लागि समेत निवेदन दिने ।

४. विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा आएका र आउने तथा आउन सक्ने भ्रमित विषयबस्तु र समाचारहरुलाई यसै सहमतिको विषय समावेश गरी खण्डन हुने तथा सहमतिको जानकारी गराउने गरी प्रेस विज्ञप्ति जारी गर्ने साथै अबका दिनमा दुबै पक्षले यस विषयमा असहमतिका कुराहरु नगर्ने समेत सहमति गरियो ।

यसरी चार बुँदे सहमतिपछि यो प्रकारणले विश्राम पाएको छ । यसलाई सकरात्मक रुपमा लिईदिन र गीतको विषयमा अनावस्यक विवाद अब नबढाउन बरिष्ट गायक शम्भु राईले अनुरोध गरेका छन् । गायक प्रकाश सपूतले पनि यो विवादलाई यही विश्राम गरिदिन सबैलाई अनुरोध गरेका छन् ।