२१ असारमा काठमाडौंमा आदित्य नारायणको कन्सर्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको ६ तारिख अर्थात आउँदो २१ असारमा आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन ।
गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । ‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु । नेपाल मेरो आफ्नै ठाउ हो त्यसैले यहाँ आउने कुराले उत्साहित छु । म मेरो आफ्नै गीतसंगै बलिउड तथा नेपालको हिट नम्बरलाई प्रस्तुत गर्नेछु ।

’ भिडियोमा उनले सम्बोधन गरेका छन् । उनले नेपालसंग आफुले समय विताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन् । आदित्य ६ जुलाईमा नै नेपाल आउनेछन् । सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले नायकको रुपमा श्रापित मार्फत डेब्यु गरेका थिए । केहि दिन अगाडी आदित्य नेपाल आउने चर्चा भएता पनि डेट फाईनल भएको थिएन् । उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा आउने बताएका छन् ।

उनि नेपाल आएसँगै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकीको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् । उनि मुम्बईबाट नेपाल आउने पहिलो फ्लाइटमा काठमाण्डू आइपुग्नेछन् । क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ ।