आयो चलचित्र एकलब्यको ‘पूर्वै चल्नेया रेल…’


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

चलचित्र ‘एकलब्य’ले प्रदर्शनी मिति नजिकिँदै गर्दा एउटा गीत सोमबार रिलिज गरेको छ । यो चलचित्र आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने छ ।

रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित ‘पूर्वै चल्नेया रेल…’ गीतको भिडियो रिलिज गरिएको हो । भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतको नृत्य पनि लोक शैलीकै छ । जसमा एक सय भन्दा बढी कोरस कलाकारलाई गहतराजले नृत्य गराएका छन् ।

यो गीतमा चलचित्रका अभिनेता सोनाम थापा मगर, अभिनेत्री ओसिन भट्टराई र मोडल सन्ध्या भट्टराईको नृत्य रहेको छ । यी दुईको नृत्य आकर्षक बनेको छ ।

चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । पारिवारिक प्रेम कथामा यो चलचित्र आधारित रहेको निर्देशक शर्माले जानकारी गराए ।

यो चलचित्रमा सोनामसँगै ओसिन भट्टराई, महिमा सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराज लोगुनसहितको अभिनय रहेको छ ।

एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।