शुक्रबहादुरलाई पाँडे र जिग्रीले सुम्पिए घर


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

खुला आकाश मुनी नदी किनारमा जीवन बिताउँदै आएका ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङको नयाँ घर पाएका छन् । धादिङको चरौदी स्थित त्रिशुली नदी किनारमा विगत २० वर्ष देखि उनले तुईन तान्दै आइरहेका थिए । यिनै पौढ नागरिकले नयाँ घर पाएका हुन् ।

हास्यब्याँग्य अभिनेता अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले आईतबार धादिङ पुगेर शुक्रबहादुरलाई घर हस्तान्तरण गरेका हुन् । सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा सो घर निर्माण गरिएको हो । आज भन्दा ६ महिना अघि उनले तुईन चलाउने बाजेको बारेमा शिबभक्तीले आफ्नो युट्युव च्यानलमा भिडियो रिपोर्ट प्रस्तुत गरेका थिए ।

आइतबार एक कार्यक्रमका बीच हास्यकलाकार जिग्री पाँडे सहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितीमा धादिङ रोराङ गाउपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।

हास्यकलाकार जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गर्दा शुक्रबहादुर निकै दँग देखिए । शुक्रबहादुरले काठमाडौं देखि कलाकार आएर घर हस्तान्तरण गरिदिदा मनमा निकै खुसी लागेको बताए,‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाए, घर पनि पाएँ । म अब तुईन तान्दिन ।’

हाल शुक्रसँग एक छोरा बस्छन् । शारीरिक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए ।

समारोहलाई सम्बोधन गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो । अबदेखि त्रिशुली नदी किनारमा सुत्नुपर्ने दिन गए ।’ शुक्रबहादुरलाई घर र आफूलाई सधै सफा सुग्गर राख्न अर्जुनले सुझाब दिए । छिमेकीहरुले पनि शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिन पनि उनले अनुरोध गरे ।

यता जिग्रीले एउटा पून्यको काममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताए । शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो ।