मिस मंगोल जाङमु सोलिडारिटी फेस्टिभलमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

‘इन्टरनेशनल सोलिडारिटी फेस्टिभल–२०१९’मा मिस मंगोल नेपाल जाङमु इन शेर्पाले नेपालको प्रतिनिधित्व गरेकी छन् । विश्वका विभिन्न मुलुकबीच मौलिक संस्कृती एवं संगीत आदनप्रदान गर्न फ्रान्समा आयोजित यो महोत्सवमा फ्रान्ससहित पोल्याण्ड, रोमानिया, युक्रेन, कोलम्बिया, स्पेन, नेपाललगायत विभिन्न मुलुक सहभागी थिए ।

जुन १४ देखि २१ सम्म फ्रान्सको टौलसमा भएको महोत्सवमा जाङमुले गुरुङ जातिको मौलिक पहिरनमा ‘सुन्दर मेरो देश’ बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेकी थिइन् । दिवस गिरीको कोरियोग्राफीमा नृत्य गरेकी उनलाई विश्वमा अन्य मुलुकका सहभागीले प्रशंसा गरेका थिए । ‘देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउँदा गौरव महसुस भएको छ’, जाङमुले भनिन् ।

‘महोत्सवमा नेपालको प्रस्तुतीलाई विश्वभरका सहभागीले प्रशंसा गरेको छ’, जाङमुले भनिन्, ‘यो मेरो लागिमात्र नभएर नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’ मिस मंगोल नेपाल–२०१८ को उपाधि जितेपछि जाङमु सामाजिक काममा पनि व्यस्त छिन् । फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पासंग सहकार्य गरी मिस मंगोल छात्रवृत्ति कोष स्थापना गरेर आर्थिक अभावले विद्यालय जान नपाएका असहाय बालबालिकाको शिक्षाका लागि उनी काम गरीरहेकी छन् ।

फ्रान्सपछि जुन २२ देखि २४ सम्म पोर्चुगल, जुन २५ देखि २९ सम्म बेल्जियमका विभिन्न शहरमा मिस मंगोल छात्रवृत्ति कोषका लागि आयोजित कार्यक्रममा उनी सहभागी हुने छिन् । इन्टरनेशनल सोलिडारिटी फेस्टिभलका साथै युरोपका विभिन्न मुलुकमा कोषको सहयोगार्थ आयोजना हुने विभिन्न कार्यक्रममा उनी सहभागी हुन लागेकी हुन् ।