बोर्डले १० सिनेकर्मीलाई सम्मान गर्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवसको अवसर मनाउँदै आएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईका अनुसार  नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६ बाट सम्मानित गरिने भएको छ । चलचित्रकर्मीहरुको योगदानको राज्यले पनि सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ यसवर्षबाट चलचित्रकर्मी विशेष योगदान सम्मानबाट सम्मानित गर्न लागिएको हो ।

यस्तो सम्मानले चलचित्र क्षेत्रमा योगदान दिँदै आउनु भएका श्रष्टाहरुलाई अझ प्रोत्साहन मिल्ने विश्वास बोर्डले लिएको छ । चलचित्र विकास बोर्डका सदस्य श्री दयाराम दाहालज्यूको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु गरिएको छ ।

बोर्डका अध्यक्ष केशब भट्टराईका अनुसार चलचित्र विकास बोर्डले गत वर्षबाट सुरु गरेको पूराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको छ । यसै क्रममा अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र– आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँध, बलिउँदो आकाश, के घर के डेरा, सिन्दुर, शान्तिद्विप, जीवनरेखा, कुमारीको डिजिटलाईजेशन तथा रेस्टोरेसन गरिएको छ । यी सबै चलचित्रहरुलाई तात्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको हो । नेपाली चलचित्रको इतिहास बोकेका यी कालजायी सिनेमालाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरुप यसलाई डिजिटलाईजेशन गरिएको हो ।

यसरी पूराना ऐतिहासिक महत्वका चलचित्रहरुलाई डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका चलचित्रहरुका केही दृश्यहरु वार्षिक उत्सवको अबसर पारेर बोर्डमा प्रदर्शन गरिने भएको छ । यस्तै चलचित्र विकास बोर्डले ऐतिहासिक महत्व बोकेका १५ घण्टा समयावधि बराबरका वृत्तचित्रहरुलाई समेत पुरानो रिलबाट डिजिटलाईजेशन गरिसकेको छ । यी वृत्तचित्रहरुमा ती कालखण्डका एतिहासिक महत्वपूर्ण घटना सहित नेपालको सम्पदा, सँस्कृति तथा विकास निर्माण जस्ता विविध पक्षलाई समेटिएको छ ।

चलचित्र विकास बोर्डले गएको एक वर्षमा गरेका कार्यविवरण र आउँदो आर्थिक वर्षसम्म गरिने भावी योजना बारे समेत वार्षिक उत्सवको अवसरमा प्रकाश पार्ने जानकारी गराईन्छ । यस्तै बोर्डले वार्षिक रुपमा प्रकाशन गर्दै आएको नेपाली चलचित्र क्षेत्रको महत्वपूर्ण दस्तावेजयुक्त कृति चलचित्र मञ्चको नयाँ अङ्क समेत सोही दिन सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।