‘शकुनी’ उपन्यास ल्याउँदै राजेन्द्र थापा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

द्रौपदी, खेलौना जस्ता उपन्यास ल्याईसकेका उपन्यासकार राजेन्द्र थापाले महाभारतको सबैभन्दा विवादास्पद एवं सीमान्तकृत शकुनीलाई मूलपात्र बनाएर नयाँ उपन्यास शकुनी ल्याउने भएका छन् । शकुनीकै कुटिल आँखाबाट लेखिएको अनुसन्धानमूलक यो उपन्यास असारभित्रै बजारमा ल्याउने उनले बताए । पुस्तकलाई प्रकाशन इन्डिगो इन्कले गरेको छ ।

लेखक थापाले उपन्यासमा महाभारतका ५ हजार ६ सय ८८ वर्षअघिका मूल घटनाहरु व्यासग्रन्थ र मिथकबाटै एकत्रित गरिएको बताए, ‘ती घटनाहरूलाई विज्ञान र मनोविज्ञानको मदानीमा मथेँ र नौनी प्रस्तुत गरेँ । उपन्यासले विभिन्न विवादास्पद मुद्दाहरूलाई आधुनिक सीमान्तकृतका आँखाबाट पुनर्लेखन गरेको छ ।’

उपन्यासकार थापाका अनुसार ‘शकुनी’ महाभारतको कथावाचन, पुनःलेखन या सङ्क्षिप्तीकरण होइन । बरु सभ्यता संहारक युद्धका कारणका निष्पक्ष खोजतलास र सुनुवाइ, सीमान्तकृत बनाइएको शकुनीकै कुचीबाट शकुनीकै क्यानभासमा उतारेर पाठकलाई न्यायाधीश बनी फैसला गर्न छाडिएको एक मुद्दा फाइल हो ।

पुस्तकको बिषयबारे थप प्रकाश पार्दै थापाले भने,‘उपन्यासले श्रीकृष्णको हस्तिनापुर आगमनका दिन शनिश्चरबार, २८ सेप्टेम्बर, ३०६७ बीसी अष्टमी, पुनर्वशु नक्षत्रदेखि शकुनी वधको युद्धको सत्रौँ दिन आइतबार ८ डिसेम्बर, शुक्लपक्ष चतुर्थी, सतविशा नक्षत्रसम्मको बहत्तर दिनसम्मको अवधि समेटेको छ ।’