सेन्सरमा फसेको चलचित्र ‘कीर्तिपुर’ अब प्रदर्शन हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

ऐतिहासिक कथामा आधारित चलचित्र कीर्तिपुर (द लिजेन्ट अफ कीर्तिलक्ष्मी) १३ असारबाट दर्शकमाझ आउने भएको छ । छायाँकन सुरु भएको पाँच वर्षपछि यो रिलिज हुन लागेका हो । चलचित्रका निर्देशक प्रदीप खड्गीका अनुसार सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो चलचित्र प्रदर्शन हुन लागेको हो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खुला गरिदिएसंगै यो चलचित्र दर्शकमाझ आउन लागेको पनि उनले बताए ।

निर्माण कम्पनीले सोमबार काठमाडौंमा चलचित्रको एउटा नया“ गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको जनाए । अत्यधिक भिएफएक्स गर्नु परेका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको निर्देश्ँक खड्गीको भनाइ छ ।

यो चलचित्र नेपाल एकिकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित छ । नया“ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् । चलचित्रलाई अनन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

अभिनेता यशराज गराचले ऐतिहासिक विषयमा आधारित चलचित्रको एउटा महत्वपूर्ण अंग हुन पाउ“दा गौरवान्वित भएको बताएका छन् । पुथ्वीनारायण शाहको भूमिका निर्वाह गर्न निकै कठिन भएको बताउ“दै अभिनेता गराचले बताए,’एउटा वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरेको छु । चलचित्रलाई लिएर म निकै उत्साहित छु ।’

कीर्तिलक्ष्मीको भूमिका निर्वाह गर्ने अभिनेत्री हिसिला महर्जनले उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि सुन्दै आएको तथा एकदिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको बताइन् । ‘पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी हुन् ।’ अभिनेत्री महर्जनका अनुसार उक्त भूमिका निर्वाह गर्नका लागि उनले प्रसस्त मेहनत गरेकी छिन् ।