नाचघरमा दीपेन्द्रको एकल गायन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ

गायक दीपेन्द्र बज्राचार्यले काठमाडौंमा एकल गीत प्रस्तुत गरेका छन् । उनी सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का स्थायी कलाकार हुन् । सांस्कृतिक संस्थानले मासिक रुपमा प्रस्तुत गर्ने एकल गायन कार्यक्रम ‘सुर साधना’को ११औं शृंखलामा यस पटक गायक दीपेन्द्रले आफ्ना गीत सुनाएका हुन् ।

उनले आफ्ना नौवटा गीत प्रस्तुत गरेर दर्शकबाट वाह वाही पाए । कार्यक्रमका अतिथि एवँ राष्ट्रिय सभाका सदस्य खेम नेपाली, बरिष्ट हास्यकलाकार मदनकृष्ण श्रेष्ठलगायत गायक बज्राचार्यको गीतमा मन्त्रमुग्ध देखिए ।
यी गायकले आफ्नो एकल गायन शास्त्रीय गायनबाट प्रस्तुत गरेका थिए । शास्त्रीय गायनको केही राग प्रस्तुत गरेपछि दीपेन्द्रले आधुनिक गीतहरू सुनाए ।

उनले कार्यक्रममा दोस्रो चरणमा बुद्ध तिमीले…., मिठो बोली…, पसिनाको जिन्दगी…बोलका आफ्ना गीतहरू प्रस्तुत गरे यस्तै सो कार्यक्रमको तेस्रो चरणमा यी गायकले माया गर्नु पनि…, खोलावारि खोलापारि…, धनको धोको… गीत सुनाए । नेपाल भाषाका दर्शकलाई लक्षित गरेर उनले केही नेवारी गीत पनि कार्यक्रममा सुनाए । गायक दीपेन्द्रलाई प्रत्यक्ष संगीतमा नाचघरका कलाकारहरूले साथ दिएका थिए ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गायकमा प्रतिभाहरूलाई एकल मञ्च प्रदान गर्न सुरसाधना कार्यक्रम आयोजना गर्दै आएको बताए । महाप्रबन्धक कलाकार दीपेन्द्र बज्राचार्यको गायकी कलाको चर्चा गरे ।

वरिष्ठ हास्यव्यंग्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको संगीतमा उनले वारी खोला पारी खोला गीत सुनाएका हुन् । उनले दीपेन्द्रको स्वरको प्रशंसा गर्दै आफ्नो संगीतमा दीपेन्द्रले गाएको गीतको चर्चा गरे । सबै प्रकारका गीत मिठाससँग गाउने क्षमता दीपेन्द्रमा भएको उनले बताए ।