आर्ट काउन्सिलमा थरी थरी कार्टुन चित्र


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

नेपाल आर्ट काउन्सिल बबरमहल बिहिबारबाट कार्टुनमय भएको छ । जहाँ नेपाली समाजका प्रतिष्ठित व्यक्तित्वका विभिन्न भावभंगिमा झल्किने क्यारिकेचरयुक्त कार्टुन चित्र प्रदर्शनी सुरु भएको छ ।

यो प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको हो । यो प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच बिहीबार उद्घाटन गरे ।

कुलपति कर्माचार्यले उद्घाटनमा बोल्दै क्यारिकेचर कार्टुन बनाउन सहज नभएको जिकिर गरे । उनले यसका लागि रुपविन्यास परिवर्तन गर्नसक्ने क्षमता कलाकार हुनुपर्ने बताए,‘कलाको विशिष्ट विधाका रुपमा क्यारिकेचरको प्रचलन युरोपमा रेनेसा कालेखि सुरु भएको हो । यसले कुनै व्यक्तिको व्यक्तित्वलाई कलात्मक तर हाँस्यरुपमा प्रस्तुत गर्ने भएकाले सबैको रुचि र नजरमा पर्दै आएको छ ।’ उनले भने ।

यो प्रदर्शनी त्यहाँ ३२ जेठसम्म चल्ने छ । प्रदर्शनीमा ४० कलाकारका ६० वटा क्यारिकेचर राखिएको छ । प्रदर्शनीमा विभिन्न विधाका कलाकार, साहित्यकार तथा सामाजिक क्षेत्रका व्यक्तिका हास्यजनक मुहार चित्रलाई राखिएको छ ।

कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले कार्टुन क्यारिकेचर बनाइएको व्यक्तिलाई समेत चित्त बुझ्ने गरी सामग्री तयार पार्नुपर्ने सो क्रममा जोड दिँदै भने,‘क्यारिकेचर कसैको खिल्ली उडाउनका लागि तयार पार्ने होइन । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा ख्याति कमाएका व्यक्तिका बारेमा क्यारिकेचर गरिने हुँदा संवेदनशील हुन आवश्यक छ ।’ उनले प्रदर्शनीमा कुनै पनि राजनीतिक दलका नेताहरुको क्यारिकेचर नराखिएको जानकारी दिए ।

प्रतियोगिताका निर्णायकमा जीवन राजोपाध्यायलगायत छन् । प्रतियोगितात्मक ‘नेपाली क्यारिकेचर २०७६’ शीर्षकमा गरिएको यो कार्यक्रममा गायक राजेशपायल राईको क्यारिकेचर तयार पार्ने विरोचन मल्ल प्रथम भए । उनले नगद २० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्यायको क्यारिकेचर बनाउने नीति श्रेष्ठ द्वितीय हुँदै १५ हजार नगद हात पारिन् ।

त्यस्तै, अभिनेता नीर शाहको क्यारिकेचर तयार पार्ने महेश बस्ताकोटी तृतीय भई नगद १० हजार नगद प्राप्त गरे ।
प्रतियोगितामा २५ जना सहभागीका ४५ वटा क्यारिकेचर प्रतिस्पर्धामा रहेका थिए । प्रतिस्पर्धामा सहभागी सबै कलाकारलाई सम्मानपत्रले सम्मान गरियो ।

कार्टुनिस्ट क्लबका महासचिव देवेन्द्र थुम्केलीले हाँस्यजनक क्यारिकेचर व्यक्तिको व्यक्तित्व झल्काउने परम्परालाई अगाडि बढाउनका लागि कार्यशाला, प्रतियोगिता तथा प्रदर्शनी गरिएको बताए ।

प्रतिस्पर्धी क्यारिकेचर र अन्य कार्टुनिस्टका क्यारिकेचरसमेत समावेश गरेर तयार पारिएको ‘नेपाली क्यारिकेचर २०७६’ पुस्तकको कुलपति कर्माचार्यले विमोचनसमेत गरे ।