तीन आमाको पुरस्कार चलचित्रकर्मी कोषलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

नेपाली चलचित्रका तीन आमा भनेर चिनिने बरिष्ट तीन अभिनेत्रीले आफ्नो नाममा स्थापना गरेको पुरस्कार चलचित्रकर्मीका लागि समर्पण गरेका छन् । प्रथम नेपाली लचचित्र ‘आमा’की तीन नायिका भुवन चन्द, बसुन्धरा भुषाल र चैतेदेबी सिंहले चलचित्रकर्मी कल्याण कोषलाई एक लाख ५३ हजार रुपैयाँको राशी सहितको पुरस्कार प्रदान गरेका छन् ।

यी तीन नायिकाले स्थापना गरेको ‘हरिश भुवन चन्द, चैत्यदेबी सिंह, चेतनारायण बसन्ुधरा भुसाल पुरस्कार–२०७६’ बुधबार चलचित्र विकाश बोर्डमा एक समारोहबीच चलचित्र विकाश बोर्ड चलचित्रकर्मी कल्याणकारी कोषलाई प्रदान गरियो । चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले कार्यक्रममा सो पुरस्कार ग्रहण गरे । पुरस्कार स्वरुपको राशी एक लाख ५३ हजार रुपैयाँ चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ ।

व्यक्तिलाई दिनु भन्दा पनि कोषमा पैसा जम्मा गर्दा सबैलाई आपत बिपत पर्दा सहयोग हुने भएकाले कोषलाई यो पहिलो पुरस्कार प्रदान गरिएको पुरस्कार समितिकी अध्यक्ष बसुन्धरा भुषालले बताईन् । सो पुरस्कार प्रदान कार्यक्रमको बोर्ड अध्यक्ष केशब भट्टराई सहित अग्रज सिनेकर्मी चेतन कार्की, यादब खरेल, निर शाह लगायतले खुलेर प्रसँसा गरे ।