तारिखमा छुटे नेहाको कन्सर्ट आयोजकहरु


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

भारतीय गायिका नेहा कक्करलाई काठमाडौं ल्याएको आयोजकलाई दुई दिन अघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । उनीहरुलाई प्रहरीले सोमबार दिउँसो तारिखमा छाडेको छ ।

उनीहरुले सिट क्षमता भन्दा दोब्बर बढी टिकट बेचेर पनि टिकट किनेका दर्शकलाई हलमा छिराउन सकेका थिएनन् । ती दर्शकले आफु ठगिएको भन्दै आयोजक पक्ष बिरुद्ध महानगरीय प्रहरी परिषर काठमाडौंमा गठीको उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले कार्यक्रम आयोजक दीपक घिमिरे, रबिन श्रेष्ठलगायतलाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।

टिकट किनेर पनि स्थानको अभावले कार्यक्रम हेर्न नपाएकाहरु सबैलाई टिकटको पैसा फिर्ता गर्ने कागजी सम्झौता प्रहरीसँग गरेपछि आयोजक दीपक सहितका व्यक्तिहरु तारिखमा छुटेका हुन् । सोह्रखुट्टे प्रहरी बृत्तको रहोबरमा दीपक सहित तीन जना व्यक्तिहरुलाई छाडिएको छ ।

प्रहरीका अनुसार टिकट किनेर पनि कार्यक्रम हेर्न नपाएका व्यक्तिहरुमध्य अहिलेसम्म ३० जना भन्दा बढीले प्रहरीको रोहबरमा आयोजकसँग पैसा फिर्ता लिईसकेका छन् । टिकट भएर पनि कार्यक्रममा प्रवेश नपाएका बाँकी सबैलाई आयोजक पक्षले पैसा फिर्ता गर्ने कागज प्रहरीसँग गरेको छ । त्यसैले सो कार्यक्रममा टिकट किनेर पनि प्रवेश नपाएकाहरुले अब टिकटको पैसा फिर्ता पाउने भएका छन् ।

आयोजक पक्षले आफुहरु पैसा फिर्ता गर्न तयार रहेको बताएको छ । कार्यक्रममा प्रवेशका लागि २५ सय रुपैयाँ देखि २ लाख रुपैयाँसम्मको प्याकेज सहितको टिकट बिक्री गरिएको थियो ।