ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

नेपालमा बिदेशी कलाकार ल्याएर गरिने कान्सर्टहरु बिबादमा पर्ने गरेका छन् । यस्तै बलिउड गायिका नेहा कक्करको काठमाडौंमा शनिबार अबेरसाँझ आयोजना गरिएको नेहा कक्कर कन्सर्ट पनि विबाद मुक्त हुन सकेन । कार्यक्रम आयोजकहरु शनिबार राती नै पक्राउ परेर अहिलेसम्म पनि प्रहरी हिरासतमा छन् । नेहा भने प्रहरीसँग सुरक्षा माग्दै भारत फर्किएकी छिन् । सो कान्सर्टको टिकट किनेर कन्सर्ट हेर्न नपाएका दर्शकहरुले आफुहरु ठगिएको भन्दै आयोजक पक्ष बिरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दिएका छन् ।

कन्सर्टको टिकट लिएर भित्र पस्न नपाएका एक हजार भन्दा बढी दर्शकले होहल्लासँग जोडफोड गर्ने अबस्था आएपछि प्रहरीले नेहालाई कार्यक्रममा कडा सुरक्षा दिएर जोगाउनु पर्यो । प्रहरीको सुरक्षाबीच गायिका नेहा हिजो मुम्बई फर्किसकेकी छिन् ।

गायिका नेहा सकुसल रुपमा मुम्बई फकिए पनि आयोजकहरुले नेपालकै बेईज्जत गरेका छन् । अन्तराष्ट्रिय कलाकार ल्याएर सिट सँख्या भन्दा दोब्बर टिकट बेचेर कार्यक्रम स्थलमा दर्शकलाई सिट दिन नसकी उनीहरुले नेहाको कार्यक्रम नै बिबादास्पद पारे । टिकट किनेर कार्यक्रम स्थलमा पुगेकाहरुले भित्र पस्न नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । सो उजुरीको आधारमा प्रहरीले आयोजकहरुलाई अहिले ठगी अभियोगमा हिरासतमा राखेका छ ।

काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंस) डिस्को थिएटमा शनिबार राति भारतीय गायिका नेहा कक्करको कन्सर्ट थियो । उनलाई पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले काठमाडौं ल्याएको हो । अन्तर्राष्ट्रिय कलाकारलाई काठमाडौं ल्याएपछि सुरक्षाका लागि महानगरीय प्रहरीलाई जानकारी गराएर सुरक्षा माग्नु पर्ने थियो । तर आयोजकले प्रहरीलाई कुनै पनि जानकारी नगराई कार्यक्रम गर्दा नेहालाई आयोजक पक्षले सुरक्षा दिन नसकेको प्रहरीको भनाइ छ ।

नेहा कक्करको कन्सर्टमा टिकट किनेर प्रवेश नपाएपछि दर्शकले होहल्ला र तोडफोड गरेको आधारमा शनिबार राती नै महानगरीय प्रहरी परिषरले आयोजक टोलीका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक व्यक्तिलाई पक्राउ गर्यो । उनीहरुलाई सोमबार बिहानसम्म पनि महानगरीय प्रहरी परिसर काठमाडौमा राखिएको छ ।

सो परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले अन्तर्राष्ट्रिय स्तरको कलाकार ल्याउँदा नेहाको सुरक्षाको लागि प्रहरीलाई जानकारी गराउनु पर्नेमा कुनै जानकारी नगराईएको बताए । अर्कोतर्फ टिकट किनेर पनि कार्यक्रममा जान नपाएकाले बाहिर बसेर होहल्ला गरेपछि प्रहरीले नेहालाई सुरक्षा दिँदै आयोजक पक्षका तीन जनालाई पक्राउ गर्नु परेको पनि उनले बताए ।

बोगटीका अनुसार २५ सय दर्शक क्षमता भएको क्लबमा आयोजकले क्षमताभन्दा धेरै बढी टिकट बिक्री गरेर थुप्रै मान्छेहरूलाई कार्यक्रममा पसाउन सकेनन् । उनीहरूले आफरुहरू ठगिएको भन्दै प्रहरी परिसरमा उजुरी दिएका छन् ।

कार्यक्रममा प्रवेश शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको थियो । टेबुल बुक गरेर बस्नेहरूलाई प्रत्यक टेबुल बुकिङको २ लाख ५० हजार रुपैयाँसम्म लिइएको थियो । प्रहरीका अनुसार आयोजकले टिकट बिक्रीसँग निःशुल्क प्रवेश पास पनि त्यत्तिकै बाँडेकाले हलभन्दा बाहिर करिब आधा दर्शक थिए ।

कार्यक्रम स्थलमा विवाद बिबाद बढे पनि हल भित्र नेहाले कार्यक्रम सम्पन्न गरेको एक दर्शकले व्युटी न्युज नेपाललाई बताए । कार्यक्रम स्थलमा असुरक्षा भएपछि प्रहरीले नेहालाई कडा सुरक्षा दिनु परेको थियो । यता टिकट किनेर पनि कार्यक्रममा प्रवेश नपाएकाहरूले आफूहरूको टिकटको पैसा फिर्तासहित आयोजकलाई कारबाहीको माग गरेका छन् । यो प्रकरणमा आयोजक पक्षलाई मुलुकी अपराध संहिताको ठगी कसुरअन्तर्गत कारबाही हुन सक्ने प्रहरीको अनुमान छ ।

शनिबार साँझको आफ्नो एकल कन्सर्टका लागि भारतीय गायिका नेहा कक्कर शुक्रबार बेलुका काठमाडौं आइपुगेकी थिइन् । दर्शक मित्रहरु यसरी एक पटक फेरी नेहा कक्करको कन्सर्ट कारण अन्तराष्ट्रिय स्तरमै नेपाल बदनाम भएको छ । यस अघि पनि बलिउड अभिनेता सलमान खानलाई ल्याउने भनेर टिकट बेचेर एउटा समुहले सलमान खानलाई सुरक्षाको कारण देखाउँदै ल्याउन सकेको थिएन । त्यो प्रकरणले नेपालको बदनाम भएको थियो भने नेहा प्रकरणले फेरी देशको बदनाम भएको छ ।