दर्शकले रुचाए चलचित्र कप्स


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

केही समयबाट हास्य चलचित्रको बाहुल्यता बढेको बेला शुक्रबारबाट मुलुकका सिनेमा हलमा चलचित्र कप्स (सत्य सेवा सुरक्षणम्) शुक्रबारबाट रिलिज भयो । आफ्नो चलचित्रले शनिबार मुलुकका धेरैजसो सिनेमाहलमा हाउसफुल व्यापार गरेको यसका निर्देशक सम्राट सापकोटाले जानकारी गराएका छन् ।

शनिबार बिहान र दिउँसोको शो हाउसफुल भएको र बेलुका वर्षाले केही असर पार्न खोजे पनि दर्शकहरु हलमा आएको पनि सापकोटाले बताए ।

यो चलचित्रको शुक्रबार बेलुका प्रेस प्रदर्शनी गरिएको थियो । सञ्चारकर्मीबाट फिल्मले राम्रो प्रतिक्रिया पायो । बुधबार ईदको बिदा परेकाले त्यो दिन पनि राम्रो व्यापार गर्ने विश्वास निर्देशक सापकोटाले व्यक्त गरेका छन् ।

यो चलचित्र अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्धको कथामा केन्द्रित रहेको निर्देशक सम्राट सापकोटाले बताए । आफ्नो चलचित्र ‘कप्स’ काठमाडौं उपत्यकाको २० र मोफसलका ५० सहित ७० वटा हलबाट रिलिज भएको पनि निर्देशक सापकोटाले जानकारी गराए ।

यो चलचित्रमा अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, रामराज क्षत्री, अमित गिरी, सम्राट सापकोटा, अनुपमा भण्डारी, पुरन जोशी, रोशन सुवेदी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापालगायतका कलाकारको अभिनय छ ।

कप्समा सापकोटाको यो डेब्यु निर्देशन रहेको छ । तीन दशक लामो अभिनय अनुभवलाई समेटेर आफुले यो फिल्म निर्देशन गरेको सापकोटाले बताएका छन् । कप्समा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा रहेको छ । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् ।

कप्समा सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ । फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् ।