बजेटमा समेटियो इन्डोर सुटिङ स्टुडियो निर्माण योजना


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

आर्थिक वर्ष २०७६–०७७ को बजेटले इन्डोर सुटिङ स्टुडियोको योजना अघि सारेको छ । १५ जेठमा ल्याईएको बजेटमा सञ्चार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको २३३ औं बुँदामा लेखिएको छ,‘काठमाडौं उपत्यकामा अध्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण कार्य प्रारम्भ गरिने छ ।’

अहिले नेपाली चलचित्र छायाँकनका लागि नेपालमा सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो छैन । फिल्म निर्माताहरुले चलचित्रको छायाँकनका लागि अर्काको घर भाडामा लिनु पर्ने तथा भनसुन गरेर २÷४ दिनको लागि छायाँकन गर्न लिनु पर्ने अबस्था छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले यो समस्या पटक पटक अहिलेका सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बासकोटाले भनेपछि बार्षीक बजेटमा ‘इन्डोर सुटिङ स्टुडियो’लाई महत्वका साथ बजेटमा समेटिएको हो ।

गत ७ जेठमा चलचित्र पत्रकार संघले आयोजना गरेको चलचित्र पत्रकारिता दिवस तथा २० औं वार्षिक उत्सबमा पनि सञ्चारमन्त्री वासकोटाले मुलुकमा अहिले इन्डोर स्टुडियो आत्यबस्यक भएको औंल्याएका थिए । इन्डोर स्टुडियो काठमाडौंमा बनाएपछि काठमाडौं बारिहको आउटडोर सुटिङ स्टुडियो निर्माण आफुहरुले थाल्ने उनले बताएका थिए । उनले सो घोषणा गरेको एक सातामा आगामी आर्थिक वर्षको बजेटमा इन्डोर सुटिङ निर्माण योजना समेटिएको हो ।

बजेटमा समेटिएको इन्डोर सुटिङ स्टुडियो निर्माण कार्यक्रमलाई चलचित्र निर्माताहरुले स्वागत गरेका छन् । नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष उदय सुब्बाले काठमाडौं उपत्यका भित्र इन्डोर सुटिङ निर्माण स्टुडियोको अत्याबस्य भएको बताए,‘हामीलाई अहिले आउटडोर भन्दा काठमाडौं उपत्यकामा एउटा इन्डोर सुटिङ स्टुडियो आबस्यक भएको माग बारम्बार चलचित्र विकाश बोर्ड र सम्बन्धित मन्त्रीसमक्ष राख्दै आएका थियौं । निर्माता केशब भट्टराई बोर्ड अध्यक्ष भएपछि यो योजनालाई बार्षिक बजेटका लागि मन्त्रालय पठाएर इन्डेर सुटिङ स्टुडियोलाई बजेटमा पार्नु भएको छ ।’ बरिष्ट उपाध्यक्ष सुब्बाले भने,‘ अब गजेटमा यो योजनाबारे बिस्तृत आएपछि जग्गा खोजेर इन्डोर सुटिङ स्टुडियोका लागि आबस्यक भवन लगायतको निर्माण सुरु गर्नुपर्छ । चाँडो भन्दा चाँडो यसलाई हामीले निर्माण गर्यौं भने फिल्म सुटिङका लागि निर्माताहरुले अर्काको घर माग्दै हिड्नु पर्दैन ।’

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले पनि इन्डोर सुटिङ स्टुडियोलाई बजेटमा समेटिएकोमा खुसी व्यक्त गर्दै भने,‘नयाँ आर्थिक वर्षको बजेटमा इन्डोर सुटिङ स्टुडियो निर्माण कार्य परेकाले अब काठमाडौं उपत्यकामा जाग्गा खोजेर हामी चाँडै यसको निर्माण प्रकृया अगाडि बढाउने छौं । सँधै अर्काको घर मागेर सुटिङ गर्दा गर्दा दिक्क भएका निर्माताहरुले अब इन्डोर सुटिङ स्टुडियोमा आफ्नो फिल्म चाँडै सुटिङ गर्न पाउने छन् ।’

अध्यक्ष भट्टराईले यस विषयमा थप प्रकाश पार्दै भने,‘सरकार र नीजि क्षेत्रका शेयर रहेको नेपाल चलचित्र विकाश कम्पनीको बालाजु स्थित जग्गा धेरैनै अतिक्रमण भएको पाईएको छ । त्यसले इन्डोर स्टुडियो निर्माणका लागि यहाँको मालपोत कार्यालयबाट सरकारी जग्गाको कागज मगाएर हामीले हेर्नेकाम गरिरहेका छौं ।’ आफुहरुले चाँडै जग्गा चयन गरेर स्टुडियो निर्माणको परियोजना थाल्ने पनि अध्यक्ष भट्टराईले बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि बजेटमा समेटिएको इन्डोर स्टुडियो निर्माणकार्यको स्वागत गर्दै उनले भने,‘यहाँ इन्डोर स्टुडियोका अत्यन्त आबस्यक भएको माग हामीले बारम्बार उठाउँदै आएका थियो । यसपटक हाम्रो मागलाई बजेटमा समेटिएकाले चाँडै नै काठमाडौंमा इन्डोर सुटिङ स्टुडियो बन्नेमा हामी ढुक्क छौं ।’ उनले काठमाडौं उपत्यकामा उचित स्थान खोजेर चलचित्र विकाश बोर्डले इन्डोर सुटिङ स्टुडियो निर्माणको कार्य चाँडो भन्दा चाँडौ सुरु गर्नु पर्ने सुझाब पनि दिएका छन् ।