हराईन कप्सकी नायिका, निर्देशकलाई जानकारी छैन


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ जेठ

यही १७ जेठबाट नयाँ चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) रिलिज हुँदैछ । यो चलचित्रको नायिका हराएको गुनासो निर्माता निर्देशकले गरेका छन् ।

६ महिना अघिबाट मुख्य नायिका संदीप लिम्बु सम्पर्कमा नआएको यसका निर्देशक सम्राट सापकोटाले बताएका छन् । नायिका सिँगापुर पुगेको भन्ने चर्चा आफुले सुनेको भनाई निर्देशक सम्राटको छ । जबकी संदीपाका साथीहरुले उनी मरिससमा भएको जानकारी गराएका छन् ।

मिस नेपाल २०१६ मा भाग लिएकी धरानकी संदीपा चर्चित मोडल हुन् । उनले मिस नेपालको उपाधी नजिते पनि मोडलिङमार्फत आफुलाई स्थापित बनाएकी थिइन् । मोडलिङकै क्रममा उनी यो चलचित्रमा नायिका बनेकी थिईन् ।

चलचित्रको स्वराँकन सकेर उनी सम्पर्कमा आईनन् । उनकोबारेमा निर्देशक सापकोटाले भने,‘फिल्म रिलिजको बेला सबैले नायिका खै भनेर सोध्छन् । नायिका कता छन भन्ने मलाई नै जानकारी छैन ।’ नायिका संदीपासँग आफ्नो कुनै मन मुटाव नभएको तर उनी किन सम्पर्कमा नआएको भन्ने कुरा आफुले बुझ्न नसकेको पनि उनले बताएका छन् ।

फिल्ममा अडिसन मार्फत उनलाई नायिका बनाएको पनि निर्देशक सापकोटाले प्रस्ट पार्दै भने,‘नायिका संदीप फोन, मेल, फेसबुक, भाईबर केहीमा पनि हाम्रो सम्पर्कमा छैनन् । फिल्म रिलिजको बेला प्रचार प्रसारमा हिड्नु पर्ने नायिका प्रत्यक्ष सम्पर्कमा नआउँदा धेरैलाई यसको जवाफ दिएर म थाकीसकेँ ।’

चलचित्र कप्समा अभिनेता अनुप बिक्रम शाहीको प्रेमिकाको भूमिकामा संदीपा छिन् । यो फिल्ममा अनुपबिक्रम र संदीपासँगै अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठ, रोशन सुवेदीसहितका कलाकारको मुख्य भूमिका छ ।