ब्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

आगामी २० असारबाट रिलिज हुने चलचित्र सानो मनको टोली यतिबेला थाईल्यान्डको राजधानी बैंककमा छ । सो चलचित्रको शिर्ष गीत सहित केही दृष्यको अहिले त्यहाँ छायाँकन भइरहेको छ ।

यो चलचित्रको युनिट यसै साता त्यहाँ गएको हो । चलचित्रको शिर्ष गीत सानो मनको आधा भन्दा बढी थाईल्यान्डको पताया र आसपासमा छायाँकन सम्पन्न गरेको यसका निर्माता राजेन्द्र मानन्धरले जानकारी गराएका छन् । पतायाको समुन्द्री किनारमा गीतको छायाँकन गरिएको छ ।

रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ । गीतमा चलचित्र अभिनेता आयुष्मान देसराज जोशी र अभिनेत्री शिल्पा मास्क रोमान्टिक मुद्रामा देखिएका छन् । यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । हालै मात्र छायाँकन स्थलबाट निर्माण पक्ष केही तस्बिरहरु पठाएका छन् ।

पतायाको छायाँकन सकेर सानो मन युनिट यतीबेला बैंकक पुगेको छ । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायाँकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए । गीतको बाँकी छायाँकन पछि फिल्मका थप दृष्यहरु छायाँकन गरेर आफुहरु १५ जेठमा काठमाडौं फर्कने पनि निर्माता मानन्धरले जानकारी गराए ।

निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् । यो चलचित्रको छायाँकन आलोक शुक्लले गरिरहेका छन् । बर्मेली नेपालीहरुको सहयोगमा आफुहरुले त्यहाँ चलचित्रको छायाँकन गर्न सफल भएको पनि निर्माता मानन्धरले बताए ।

समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको यो चलचित्र ओपिजी फिल्मस्, ए प्लस इन्टरट्रेनमेन्ट र हाईटेक ईन्टरट्रेनमेन्टको व्यानरमा निर्माण भएको छ । यसकाका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।