ब्युटी न्युज नेपाल
काठमाडौं,

‘द काठमाडौं मल व्यापार संघ’को अध्यक्षबाट ब्युटिसियन सुष्मा श्रेष्ठ महरालाई हटाईएको छ । कर्मचारी सञ्चय कोषको व्यापारिक मल सुन्धारामा गत शनिबार भएको विशेष भेलाले अध्यक्षबाट सुष्मालाई पदच्युत गरेको हो ।

काठमाडौं मललाई विवादमा ल्याएर त्यहाँको व्यापारमा समेत असर पर्ने स्थित आएपछि त्यहाँका व्यापारीहरुले विशेष भेला आयोजना गरेका थिए । सो भेलाले सुष्मा श्रेष्ठ महराको नेतृत्वको कार्यसमितिलाई भँग गरेर शिवप्रसाद ढकालको नेतृत्वमा नयाँ तदर्थ कार्यसमिति गठन गरेको छ । भेलाले नयाँ कार्यसमितिमा शिवप्रसाद ढकाललाई संयोजक तोकेको छ । सदस्यहरूमा प्रकाश थापा, मुरशी कोइराला, जगदीश गौतम, केशरबहादुर थापा, सरस्वती श्रेष्ठ र उमेश भारती रहेका छन् । पुरानो कार्यसमिति भँग भएसँगै मलमा शान्ति छाउँदैछ ।

यो तदर्थ समितिले अब संघलाई बैधानिकता दिँदै काठमाडौं मलका व्यबसायीको हक हितमा काम गर्ने तदर्थ समितिका संयोजक ढकालको भनाई छ ।

यो कार्यसमितिले सञ्चय कोषसँग वार्ता र सम्वाद पनि गरिसकेका छ,‘यस अघि सुष्मा श्रेष्ठ महराको नेतृत्वमा भएको सम्पूर्ण विवादलाई हामी सुल्झाएर काठमाडौं मललाई उत्कृष्ट व्यापारिक केन्द्र बनाउने छौं । यहाँ अब त्यस्ता अनावस्यक विवाद हुने दिने छैनौं ।’ तदर्थ समितिका पदाधिकारीहरुले ब्युटी न्युज नेपालसँग भने ।

राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष मनोजबाबु श्रेष्ठले पनि नयाँ तदर्थ समितिलाई काठमाडौं मल अब उत्कृष्ट ब्यापरिक स्थल बनाउन सल्लाह दिए । काठमाडौं मलका व्यबसायीहरुको पक्षमा महासंघ भएको पनि उनले बताए ।

काठमाडौं मलका करिब दुई सय व्यबसायीहरुको भेलामा संघका यस अघिका अध्यक्ष सुष्मा श्रेष्ठ महरा उपस्थित नभएपछि उनलाई पदमुक्त गर्नु परेको निर्णय भेलामा उपस्थित सबैले सुनाएका थिए । उनलाई त्यहाँ आफ्नो भनाई राख्न बोलाईए पनि उपस्थित नभएर भेलालाई बहिष्कार गरेको भन्दै सहभागीहरु ब्यबसायीहरुले आक्रोस पोखेका थिए ।

‘द काठमाडौं मल व्यापार संघ’को नयाँ तदर्थ कार्यसमिति गठनसँगै मलको बिबाद साम्य हुँदै गएको र फेरी मलमा पुरानै वातावरण सृजना भएको त्यहाँका व्यबसायीहरुले बताएका छन्,‘थोरै मान्छेले कर्मचारी संचय कोषलाई मलको भाडा नतिर्ने नियत सहित आफ्नो स्वार्थका लागि राजनीति गर्दा काठमाडौं मललाई बदनाम गरिँदै थियो । अब अहिले मल बिस्तारै शान्त र विवादमुक्त हुँदै गएको छ ।’ ब्यबसायीहरुले भने ।