जात्रै जात्रालाई पहिला सातामा साँढे ४ करोड, दोश्रो साता पनि हाउसफुल


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

हास्य प्रधान चलचित्र जात्रै जात्राले पहिलो सातामा ४ करोड ५० लाख हाराहारीको व्यापार गरेको यसका निर्देशक प्रदीप भट्टराईले जानकारी गराएका छन् ।

यो चलचित्र दोश्रो साता पनि राजधानी र मोफसलका हलहरुमा हाउसफुल भएको निर्देशक भट्टराईले ब्युटी न्युज नेपाललाई बताए । यो चलचित्रकी अभिनेत्री वर्षा राउत, अभिनेता एवम् निर्माता रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, निर्माता सिँगे लामासहितको टिम शनिबार बिहानै पोखरा पुगेका छन् ।

पोखराको मिड टाउन र पोखरा सिनेप्लेक्स गरी दुई ओटै सिनेमा हल शनिबार बिहानैदेखि हाउसफुल भएको निर्देश भट्टराईले जानकारी गराए,‘यहाँको महौला हेर्दा दोश्रो साता नभएर भर्खर रिलिज भएको चलचित्रको जस्तै उत्साह छ । यहाँका सबै सिनेमा हल बिहानै देखि हाउसफुल छ, काठमाडौंका क्युएफएक्स, बिग, बिएसआर, एफक्युज, गोपी, अस्टलगायतका सिनेमा हल पनि बिहानैदेखि हाउसफुल भएको खबर आएको छ ।’

यो चलचित्र शनिबार काठमाडौंको क्युएफएक्स सिनेमा हल अन्तर्गत १६ शो पाएकोमा सबै शोहरु हाउसफुल अबस्थामा रहेको निर्देशक भट्टराईले जानकारी गराए । बिहान ९ र १२ बजेको शोहरु सबै हाउसफुल भएको र दिउँसो एवम् बेलुकाको शो पनि अहिले अग्रिम बुकिङबाट हाउसफुल हुँदै गरेको उनले बताए ।

यो चलचित्रमा दयाहाङ राई, बिपिन कार्की, वर्षा शिवाकोटी, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, राजाराम पौडेल, प्रकाश घिमिरे, सुष्मिता कार्की, कालु रानासहितको मुख्य भूमिका रहेको छ ।