चलचित्र आप्पाको कथा प्रतियोगिता 


ब्युटी न्युज नेपाल

काठमाडौं, ९ जेठ

१३ असार देखि नेपालका सिनेमा हलमा रिलिज हुने चलचित्र ‘आप्पा’ले प्रचारको नयाँ योजना तयार गरेको छ । भिडियो मार्फत सार्वजनिक गरिएको ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा अभिनेता दयाहाङ राईले जानकारी दिएका छन् । सिनेमामा दयाहाङले आप्पा (बुवा)को भूमिका निर्वाह गरेका छन् । सिनेमाले बाबु(छोराको सम्बन्धको कथा भन्छ ।

निर्माण पक्षका अनुसार ‘आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै आप्पालाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र, त्यस पोस्टलाई आप्पा नेपाली मुभीको फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ ।

त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा (आप्पा)सँगको भिडियो अपलोड गरेर आप्पालाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ । फोटोमा जस्तै ३ जना साथि र आप्पा सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर आप्पा स्टोरी च्यालेन्जको बारेमा बताउनु पर्नेछ ।
च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी प्रेरणादायिक हुन्छ, त्यसलाई विजेता घोषित गरिनेछ । फोटोस्टोरीको विजेताले २५ हजार नगद र ’आप्पा’ सिनेमा प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन् ।

भने, भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई ओटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।

रुदेन सदा लेप्चाले निर्माण गरेको सिनेमामा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी छ । भने, सिनेमाको कार्यकारी निर्माता मबो चेम्जोङ हुन् ।

अनमोल गुरुङ निर्देशित सिनेमामा सिद्धान्तराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन् । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ ।