प्रहरीको बहादुरी कथामा चलचित्र कप्स


ब्युटी न्युज नेपाल
काठमाडौ, ८ जेठ

नेपाल प्रहरीको बहादुरीको कथा बोकेर चलचित्र कप्स (सत्य सेवा सुरक्षणम्) अर्को हप्ता रिलिज हुँद्यैछ । प्राय नेपाली फिल्ममा नेपाल प्रहरीको चरित्र प्राय नकरात्मक देखाउँदै आएको बेला चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) मा दर्शकले उनीहरुको चरित्र सकरात्मक देख्न पाउने छन् ।

विश्वमा राम्रो प्रहरीको रुपमा नेपाली प्रहरीले बनाएको छबीलाई आफुहरुले यो चलचित्रमा प्रस्तुत गरेको यसका निर्देशक सम्राट सापकोटाले बताएका छन् ।

यही १७ जेठमा देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रमा प्रहरी नायव उपरिक्षकको रुपमा अभिनेता अनुप बिक्रम शाहीलाई उतारिएको छ । यस अघि प्राय खलचरित्रमा उत्रने गरेको अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीको रुपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले बताए ।

प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरुमाथि जनताको हेराई र बुझाई किन नकरात्मक छ भन्ने बिषयलाई आफ्नो सिनेमाले चिरफार गर्ने पनि निर्देशक सापकोटाले बताए । सञ्चारकर्मीसँगको भेटघाटमा निर्देशक सापकोटाले भने,‘नेपाल प्रहरी अहिले पनि विश्वमा सक्षम प्रहरी भनेर चिनिएको छ । त्यसैले मेरो चलचित्र कप्सले अपराध नियन्त्रणमा नेपाल प्रहरीको सफलताको कथा प्रस्तुत गरेको छ ।’

 


यस अघि दुई दर्जन भन्दाबढी चलचित्रमा अभिनय गरेका सम्राटले चलचित्र कप्सबाट निर्देशनमा हात हालेका हुन् । कप्समा अनुपबिक्रमसँगै संदिपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

सापकोटाका अनुसार चलचित्र कप्स ‘थ्रि पी’ अर्थात ‘पोलिटिक्स, पुलिस र पब्लिक’मा केन्द्रित रहेको छ । राम शाक्यले निर्माण गरेको यो फिल्ममा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, स्वयम्भुराज शाक्यको संगीत छ ।

मुलुकमा बढ्दो, अपहरण, बलात्कार, हत्या, गुन्डागर्दीले समाजमा निम्त्याएका समस्या र त्यसलाई नियन्त्रण गर्न प्रहरीको भोग्नु परेको चुनौतीको सेरोफेरोमा आफ्नो फिल्म भएको पनि यी निर्देशकको कथन छ । यो चलचित्रलाई उनी आफैंले लेखेका हुन् ।