१०० भन्दा बढी हलमा आयो जात्रै जात्रा


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

यो वर्षको निकै आशा गरिएको चलचित्र जात्रै जात्रा शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज भएको छ । फिल्मले बिहानैको शो देखि राम्रो दर्शक पाएको छ । यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

निर्देशक भट्टराईका अनुसार यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्र हास्य प्रधान रहेको छ । सुन तस्करीको बिषयमा आधारित आफ्नो फिल्म समसामयिक कथामा केन्द्रित रहेको पनि निर्देशक भट्टराईले जानकारी गराए ।

यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको पनि निर्देशक भट्टराईले जानकारी गराए ।
काठमाडौंको असन र बौद्धक्षेत्रमा छायाँकन गरिएको यो चलचित्रलाई प्रदीप भट्टराईले नै लेखेका हुन् । रविन्द्र सिंह बानियाँ, सिंगे लामार यादब पौडेलले जात्रै जात्रा निर्माण गरेका हुन् ।

अघिल्लो चलचित्र ‘जात्रा’को सफलतापछि सोही कथालाई अघि बढाउँदै जात्रै जात्रा तयार गरेका हुन् । शिबराम श्रेष्ठको छायाँकन, मित्र देब गुरुङको सम्पादन रहेको यो चलचित्रमा रहेको गीत गर्मीलाई फ्यान हजुर जाडोलाई हिटर हजुर…पहिले चर्चामा छ ।
यो चलचित्रको शुक्रबार बिहान काठमाडौंको कुमारी हलमा प्रेस प्रदर्शनी गरियो । फिल्मलाई सञ्चारकर्मी देखि सिनेकर्मीसम्मले मन पराए । निर्देशक प्रदीपका अनुसार जात्रै जात्राले शुक्रबार बिहानदेखि नै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।