विवाह शैलीमा चलचित्र बीर बिक्रम २ को प्रिमियर


ब्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

नेपालमा न्याउलीबाजा कमै समारोहमा बजेको देख्न र सुन्न पाईन्छ । यो विशेष बाजा बिशेष समारोहमा बजाईन्छ । यस्तै काठमाडौंमा न्याउली बाजा बजाएर चलचित्र बीर बिक्रम २ को प्रिमियर शो बिषेश समारोह बनाईएको छ ।

कमलपोखरी स्थित क्युएफएक्समा बुधबार बेलुका चलचित्र बीर बिक्रम २ को भव्य प्रिमियर शो गरिएको छ । यो चलचित्रको मुहुर्त समारोहमा पनि न्याउली बाजा बजाएर कलाकारको स्वागत गरिएको थियो । प्रिमियर शोलाई त निर्माण पक्षले मुहुर्त समारोह भन्दा अझ भव्य बनायो ।

त्यो प्रिमियर शो कुनै विशेष विवाह भन्दा कम थिएन । समारोहमा बेहुला बेहुलीको झल्को दिने रुपमा बीर बिक्रम २ का कलाकारहरुलाई लिईएको थियो । चलचित्रका मुख्य कलाकारहरुलाई बेहुला बेहुलीझैं प्रिमियस शोमा न्याउली बाजाले स्वागत गर्दै पर्पल कार्पेटमा उतार्दा त्यहाँको माहौल निकै रोमाञ्चकारी बनेको थियो ।

हरेक जसो फिल्मको रेड कार्पेट प्रिमियर शो आयोजना गरिन्छ । तर चलचित्र बीर बिक्रम २ को यो कार्यक्रममा रेडको सट्टा पर्पल कार्पेट प्रिमियर गरियो । यो चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार फिल्मको कलर आईडिया नै पर्पल भएकाले पनि यो फिल्मको पर्पल प्रिमियर शो गरिएको हो ।

चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी सफ्ट पिँक गाउनमा निकै आकर्षक भएर पर्पल कार्पेट प्रिमियरमा आएकी थिईन् । अर्का अभिनेता नाजिर हुसेन पनि सेतो ब्लेजर, ब्लक सर्टमा त्यत्तिकै आकर्षक भएर आएका थिए । फिल्ममा बाघ बहादुर बनेरका हास्य अभिनेता बुद्दी तामाङ पनि न्याउली बाजा सहित पर्पल कार्पेटमा हिड्दा केही लजाएको देखिन्थे । चलचित्रका अन्य कलाकारलाई पनि पर्पल कार्पेटमा न्याउली बाजासहित भव्य स्वागत गरियो ।

प्रिमियर शोमा बरिष्ट अभिनेता शिब श्रेष्ठ, भुवन केसी आएका थिए । अभिनेत्री शिल्पा मास्के, हास्य अभिनेत्री एवम् सामाजिक अभियान्ता कुन्जना घिमिरे अर्थात सुन्तली, पल्पसा डँगोल, हास्य अभिनेता सन्दीप क्षत्रीसहित विभिन्न कलाकार पुगेका थिए ।

३ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने बीर बिक्रम २ हेरेपछि यसका कलाकारहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । कलाकारहरुले फिल्ममा काम गर्दा देखि प्रिमियरसम्मको अनुभव सुनाए । अतिथि कलाकारहरुले पनि फिल्मको बारे विभिन्न प्रतिक्रिया सो समारोममा व्यक्त गरे ।