ब्युटी न्युज नेपाल

काठमाडौं, २ जेठ 

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ । यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकी छिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन् ।

यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् । जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी आगामी साउनमा काठमाडौंको राष्ट्रिय नाचघरमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ ।

अडिसनपछि चयन भएका महिलाहरुलाई व्यक्तित्व विकाश, महिला शक्तिकरण सम्बन्धि प्रशिक्षण, पब्लिक स्पिकिङ, जुम्बा, स्विमिङ, क्याटवाक, नृत्य, सेल्फ मेकअप, मिडिया म्यानेजमेन्ट, बिजनेश म्यानेजमेन्टसहित विभिन्न प्रशिक्षण दिइने भएको छ । चर्चित कोरियोग्राफर सहित नायक नायिका, मोडल, ब्युटिसियन, पत्रकार, सफल महिलाहरु तथा विभिन्न क्षेत्रका सफल व्यक्तिहरुबाट आ आफ्नो क्षेत्रको बारेमा विविध कक्षाको पनि आयोजना गरिने भएको छ । एक महिनाको विशेष प्रशिक्षणपछि प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने भएको छ ।

‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’का बिजेताले तीन महिनाको ब्युटिसियन सम्बन्धि विशेष कोर्ष, फिटनेश सम्बन्धि एक महिनाको बिशेष कोर्ष सहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगितामा अन्य शिर्ष उपाधि र गिफ्ट ह्याम्पर पनि राखिएको छ । यल मिडियाको आगामी फेशन शोहरुमा एक वर्षसम्म मोडलिङ गर्ने अबसर पनि बिजेता तथा रनर अपहरुले प्राप्त गर्ने आयोजक रमी श्रेष्ठले जानकारी गराएकी छिन् । फारमको लागि यल मिडियाको कार्यालय कुपन्डोल, ब्युटि न्युज नेपाल पुतलीसडकलगायतको स्थानमा सम्पर्क गर्न सकिने पनि आयोजक रमी श्रेष्ठले जानकारी गराएकी छिन् ।