नरेश र श्यामलाई सम्मान, कुबेर र शारदालाई पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, १ जेठ

चलचित्र पत्रकार संघ नेपालले यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ संघका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनका पत्रकार नरेश भट्टराई र संघका अर्का सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई प्रदान गर्ने भएको छ ।

चलचित्र पत्रकारितामा र्पुयाएको योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष सन्दिप सापकोटाद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

चलचित्र पत्रकारिता दिवस अर्थात २०औँ स्थापना दिवसको अवसर पारेर ७ जेठमा काठमाडौंमा एक समारोहबीच यो सम्मान र पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा लामो समयदेखी क्रियाशिल दुईजना पत्रकारलाई यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संघले यो पुरस्कार संघका सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ । त्यस्तै बैठकले संघका सदस्य तथा मेरो फिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।