निर्माणमा कबड्डी कबड्डी कबड्डी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख

कबड्डीको तेश्रो सृँखला अर्थात कबड्डी कबड्डी कबड्डी निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको छ ।

यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । ५ जेठबाट यो चलचित्रको छायाँकन सुरु हुने यसका निर्देशक गुरुङले कार्यक्रममा बताए । आफ्नो चलचित्र स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित रहने पनि निर्देशक गुरुङले घोषणा समारोहमा जानकारी गराए । यो चलचित्रको मुस्ताङ, काठमाडौं लगायतका स्थानमा छायाँकन गरिने छ ।

कबड्डी कबड्डी कबड्डीमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो चलचित्रलाई बाँसुरी फिल्मस्, सिनेमा आर्टस्, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टले सँयुक्त निर्माण गर्दैछ । कबड्डी कबड्डी कबड्डीको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार, सह निर्मातामा रुदेना साडा लेप्चा छन् । चलचित्रको छायाँकारमा शैलेन्द्र डि. कार्की, कास्टिङ निर्देशकमा अुनप बराल र सम्पादकमा निमेष श्रेष्ठ छन् ।

चलचित्रलाई आगामी भदौ वा असोजको उपयुक्त तिथि हेरेर रिलिज गर्ने पनि निर्देशक गुरुङले जानकारी गराएका छन् । फिल्मको स्कृप्ट उपेन्द्र सुब्बासँग मिलेर निर्देशक गुरुङले लेखेका हुन् ।